काठमाडौं- नक्सालमा रहेको वात्सल्य नेचुरल आईभीएफ प्राली स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता नै नभई सञ्चालमा आइरहेको तथ्य फेला परेको छ।
वात्सल्यले सञ्चालन स्वीकृत नै नलिई निसन्तान दम्पतीको उपचारका नाममा गैरकानुनी रुपमा टेस्टट्यूब बेबी अर्थात ईनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालन गर्दै आएको फेला परेको हो।
जनस्वास्थ्य सेवा नियमावली अनुसार आईभीएफ सेवा सञ्चाल गर्न मन्त्रालयबाट इजाजत लिनु पर्ने हुन्छ। मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाका अनुसार वात्सल्यले अहिलेसम्म इजाजत पाएको छैन।
तर इजाजत नै नलिई वात्सल्यले टेस्टट्युब बेबी सेवाका नाममा निसन्तान दम्पतीसँग लाखौं रकम असुल्दै आइरहेको छ।
'वात्सल्यले गैरकानुनी रुपमा टेस्टट्युब बेबी सेवा सञ्चालन मात्र गरेको छैन,' स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने, 'उपचारका नाममा चर्को रकम असुल्दै ठगी समेत गर्दै आइरहेको छ।' ती कर्मचारीका अनुसार वात्सल्यको गैरकानुनी कामका विषयमा मन्त्रालयमा समेत जानकारी आइसकेकोले त्यसविषयमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भएको छ।
वात्सल्यले निसन्तन दम्पतीलाई परीक्षण र टेस्टट्युब बेबी सेवा दिएबापत ४ लाखभन्दा बढीसम्म रकम असुल्दै आएको जानकारी समेत मन्त्रालयमा आइसकेको ती कर्मचारीले जानकारी दिए।
जनस्वास्थ्य सेवा नियमावली अनुसार आईभीएफ सेन्टर सञ्चालन गर्ने सेन्टरसँग स्त्रीरोग सेवा, बहिरंग सेवा, प्रोगशाला शुक्रकिट परीक्षण सहित, यूएसजी सेवा, अप्रेसन थियटर, इम्ब्रोलोजी प्रयोगशाला, आकस्मिक सेवाका लागि कुनै एक अस्पतालसँगको सम्झौता गरेको लगायतका मापदण्ड पुरा गरेको हुनुपर्दछ। तर वात्सल्यले यी सबै मापदण्ड समेत पुरा नगरेको मन्त्रालयका ती कर्मचारी बताउँछन्।