काठमाडौं- निर्वाचन आयोगले कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आसन्न स्थानीय तह निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गरी मतदानको व्यवस्था मिलाउने भएको छ। आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाताको स्वास्थ्यलाई ध्यान दिँदै उपयुक्त व्यवस्था गरिने तयारी भइरहेको बताए।
मतदानस्थलमा भीडभाड कम गर्ने, मतदाताबीच भौतिक दूरी कायम गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने र मतदानस्थलमा प्रवेश गर्नेको ज्वरो नाप्नेलगायत व्यवस्था गर्ने तयारी गरिएको उनले जानकारी दिए। आयोगमा आसन्न स्थानीय तह निर्वाचनका लागि १९ दल दर्ता भएका छन्। दल दर्ताका लागि सूचना प्रकाशन भएपछि निर्वाचनमा भाग लिनका लागि दर्ता हुन निवेदन दिने दलको सङ्ख्या २९ पुगेको उनले जानकारी दिए।
आयोगमा बहुजन एकता पार्टी, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समावेशी पार्टी र राष्ट्रिय जनमोर्चा दर्ता भएको सहायक प्रवक्ता अर्यालले जानकारी दिए।
राष्ट्रिय विकास पार्टी, नागरिक उन्मुक्ति पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल संसदीय समाजवादी पार्टी, सचेत नेपाली पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, समाजवादी केन्द्र नेपाल र पिछडावर्ग निषाद दलित जनजाति पार्टी दर्ता भएको छ।
निर्वाचनमा खटिने जनशक्तिको बीमा गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार आयोगले निर्वाचनमा खटिने एक लाख १० हजार ७१३ अनुमानित जनशक्तिको प्रतिव्यक्ति रु २० लाखको बीमा गर्न बीमा कम्पनीसँग प्रस्ताव माग गरिएको आयोगले जनाएको छ। स्थानीय तह निर्वाचनका लागि मतदान कार्यमा संलग्न हुनेका लागि कोभिड–१९ को महामारीलाई रोकथाम गर्ने स्वास्थ्य सामग्री (मास्क र स्यानिटाइजर) र प्राथमिक उपचारका स्वास्थ्य सामग्री खरिद गर्न बोलपत्रको आह्वान गरिएको आयोगको भनाइ छ। रासस