सुर्खेत- राष्ट्रिय सभाको संयोजकत्व, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना र नेपालस्थित विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा राष्ट्रिय सभाका सदस्यहरुका लागि अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
कोभिड—१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेश सभाका सदस्यहरुको उपस्थिति थियो।
अन्तरक्रिया कार्यक्रममार्फत् खोप लिने क्रम बढाउनु, स्वास्थ्य तथा सामाजिक उपायहरूको पालनाका सम्बन्धमा सहभागिता बढाउनु र सम्बन्धित निर्वाचन क्षेत्रमा स्वास्थ्य आपत्कालीन अवस्थामा सही तथा वैज्ञानिक जानकारी र विधिहरु प्रसार गर्न र नसर्ने रोग, मानसिक स्वास्थ्य र जेष्ठ नागरिकको स्वास्थ्य सन्दर्भमा कर्णाली प्रदेश सभाका सदस्यको भूमिकालाई प्रकाश पार्ने र जनप्रतिनिधिहरुको भूमिका बढाउने उद्देश्य स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राखेको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमको पहिलो कार्यपत्र प्रस्तुत राख्दै विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका प्रमुख डा. राजेश संभाजीराव पाण्डवले संसारभर र नेपालमा नसर्ने रोग, मानसिक स्वास्थ्य र जेष्ठ नागरिकको स्वास्थ्यको अवस्था, कोभिड—१९ महामारीले पारेको प्रभाव र रोकथाम तथा नियन्त्रणका उपायका बारेमा जानकारी दिएका थिए। कोभिड–१९ महामारीको सन्दर्भमा जनस्वास्थ्य मापदण्डहरूसँग सम्बन्धित विज्ञानका विषयमा विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका आपत्कालीन कार्यक्रम प्रमुख डा. आलिसन गोकोटानोले प्रस्तुति राखेका थिए।
कार्यक्रमको तेस्रो कार्यपत्र प्रस्तुत गर्दै विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालय, खोप कार्यक्रमका प्रमुख डा. विनोद बुराले कोभिड–१९ विरुद्धको खोप अभियानलाई राष्ट्रव्यापी बनाउनमा जनप्रतिनिधिहरूको भूमिकाको महत्वको विषयमा प्रकाश पारेका छन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक कुमार लालले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रणनीतिका बारेमा जानकारी दिएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रमुख स्वास्थ्य शिक्षा प्रशासक डा. राधिका थपलियाले जोखिम सञ्चार र सामुदायिकका सहभागिताका विभिन्न पक्ष, सिद्धान्त र उपयहरुको बारेमा जानकारी दिइन्।
त्यसैगरी राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शीला श्रेष्ठले नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सार्वजनिक गरेको जोखिम सञ्चार तथा सामुदायिक सहभागिता निर्देशिका, संयन्त्रको स्थापना र निर्देशिकाले जनप्रतिनिधिहरूलाई कोभिड–१९ लगायतका सङ्कटको अवस्थामा सामुदायिक सहभागिताको संयन्त्रलाई थप सबल बनाउने प्रबन्धहरू उपलब्ध गराएको बताइन्। विश्व स्वास्थ्य संगठनका वरिष्ठ परामर्शदाता डा. सुनूर वर्माले सङ्कटको समयमा जोखिम सञ्चार र जनप्रतिनिधिहरूले भूमिकाको बारेमा जोड दिदै प्रभावकारी सञ्चार गर्दा अपनाउनुपर्ने सतर्कता र असल अभ्यासहरूका बारेमा जानकारी दिए।
उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जिवन बहादुर शाही, कर्णाली प्रदेश सभाका सभामुख राज बहादुर शाही, कर्णाली प्रदेश सभाका सदस्य लगाएतको उपस्थिति रहेको थियो।