काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र मुख्यसचिव शंकरदास बैरागीले अंगदान गर्ने घोषणा गरेका छन्।
राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंगदान गर्ने घोषणा गरेका हुन्।
कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंगदान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरे। उनले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्नका लागि गाउँ गाउँसम्म स्वास्थ्य केन्द्रहरु पु¥याउनुपर्ने भएकोले थप जनशक्तिको आवश्यक्त परिपूर्ति गर्नेपनि विश्वास व्यक्त गरे।
त्यस्तै, सरकारका मुख्यसचिव शंकरदास बैरागीले आफू पनि अंगदान गर्न इच्छुक रहेको र आगामी दिनमा स्वेच्छिक धारणाहरु सार्वजनिक गर्ने बताए। उनले नेपालले विगत दुई वर्षयता स्वास्थ्य पूर्वाधार र जनशक्ति विकासको क्षेत्रमा उल्लेख्य फड्को मारेको बताए।
मुख्यसचिव बैरागीले स्वास्थ्य सेवालाई उचाईमा पु¥याउन खुला, पारदर्शी, व्यवस्थित ढंगबाट छलफल गरेर सरकारले धान्न र बोक्न सक्नेसम्मको सेवासुविधा विस्तार गर्नेदेखि ऐन, कानुन मिलाउने कुराहरुमा आफ्नो प्रत्यक्ष भूमिका रहने पनि बताए।
स्वास्थ्य सेवाको व्यवस्थापन, कर्मचारीको समायोजन लगायतका विषयहरुमा समीक्षा गर्नका लागि प्रधानमन्त्रीको कार्यालय, अर्थ, स्वास्थ्य, कानुन मन्त्रालयको प्रतिनिधित्व रहनेगरि काम गर्ने प्रबन्ध मिलाउने प्रतिवद्धतासमेत जनाए।
यसवर्ष सरकारले गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिवद्धता भन्ने मूल नारासहति स्वास्थ्य सेवा दिवस मनाएको छ।