काठमाडौं- अनुमति बिना सञ्चालन गरिएका स्वास्थ्य संस्था कारबाहीको दायरामा आउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत नलिई सञ्चालन गरिरहेका स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ।
मन्त्रालय अन्तरगतको गुणस्तर मापन तथा नियमन महाशाखाले एक सुचना जारी गर्दै जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ अनुसारको प्रक्रिया पुरा नगरेका स्वास्थ्य सस्थालाई कारबाही गर्ने चेतावनी दिएको हो।
उक्त नियममा कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सहकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नपाउने उल्लेख छ।
‘जनस्वास्थ्य नियमावली २०७७ को नियम १२ अनुसार कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सहकारी तथा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र तथा नवीकरण सोही नियमावलीको परिच्छेद ४ तथा अनुसूची–९ बमोजिमका निकायहरुमा सम्पर्क गर्नुहुन साथै यस सम्बन्धमा अन्यथा भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही भई जाने व्यहोरा समेत यसै पत्रमार्फत जानकारी गराइन्छ,’ सुचनामा भनिएको छ।