चितवन- चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट परीक्षण सेवा सुरु गरेको छ। अस्पतालले स्याटेलाइट क्लिनिकलाई थप व्यवस्थित गरेर सेवा विस्तार गरेको हो।
अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार उक्त क्लिनिकबाट सबै खालको रोगको परीक्षण गरिने छ। गुणस्तर कायम गर्दै सेवा विस्तार गरेको उनको भनाइ छ। क्लिनिकबाट हरेक दिन बिहान ९ बजेबाट दिउँसो ४ बजेसम्म बहिरंग सेवा उपलब्ध हुनेछ।
उनका अनुसार विशेषज्ञ चिकित्सकको निगरानीमा मेडिकल अधिकृत भई काम गरेको अनुभव प्राप्त चिकित्सक क्लिनिकमा उपलब्ध हुनेछन्। छिट्टै विशेषज्ञ सेवा दिने तयारी गरिएको लम्सालले बताए।
क्लिनिकमा आउने बिरामीको एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला परीक्षणको सुविधा समेत त्यहीबाट हुने छ। अस्पतालका प्रयोगशाला विभाग प्रमुख डा सञ्जय यादवका अनुसार यहीँबाट नमूना संकलन गरेर मेडिकल कलेजको भरतपुरस्थित प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था गरिएको छ।
यादवले भने, “नमूना यही संकलन हुन्छ, छिटोभन्दा छिटो भरतपुरमा पठाएर परीक्षण गराउँछौँ। अनलाइनमार्फत् परीक्षणको रिपोर्ट यही आउँछ ।” क्लिनिकमा डे केयरसँगै फार्मेसीकोसमेत सुविधा रहेको छ। कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले छिट्टै नेपाल सरकार, स्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकासँग समन्वय गरी नियमित खोप लगायतका सरकारी स्वास्थ्य सेवा पनि यहीँबाट सञ्चालन गर्ने तयारी गरिएको बताए।
स्थानीयवासीलाई सहज उपचार सेवा दिनका लागि यो क्लिनिक सञ्चालन गरिएको उनको भनाइ छ। क्लिनिकमा सबै खालका रोगको परीक्षण हुने उनले जानकारी दिए। चितवन मेडिकल कलेजको भरतपुरस्थित अस्पतालमा दैनिक एक हजार २०० हाराहारी बहिरंग सेवामा बिरामी आउने गर्दछन्।