काठमाडौं - लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रले लुम्बिनी प्रदेशका २४ जना स्वास्थ्यकर्मीलाई आँखा, नाक, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी तीन दिने प्रशिक्षण तालिम सञ्चालन गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उपचरात्मक सेवा महाशाखाको प्राविधिक सहयोगमा लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पताल, स्वास्थ्य कार्यालय र फोकल पर्सन गरी २४ जनालाई उक्त प्रशिक्षण सञ्चालन गरिएको हो।
कार्यक्रममा स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय लुम्बिनीका सचिव डा विकास देवकोटाले उक्त तालिमलाई व्यवहारमा लागू गर्न सबैलाई आग्रह गरेका थिए। लुम्बिनी प्रदेशले स्वास्थ्य क्षेत्रको सूचकहरुमा सुधार गरेको र अझै धेरै गर्न बाँकी रहेको बताए।
जनसंख्या मन्त्रालयको उपचारात्मक महाशाखाका प्रमुख कन्सल्टेन्ट तथा आ“खा, नाक कान, घा“टी प्रमुख डा प्रकाश बुढाथोकीले यो सेवालाई विकास र विस्तार गर्न आवश्यक रहेको बताए। स्थानीय र प्रदेश सरकारलाई सशर्त बजेटका रुपमा कार्यक्रम राखिएकाले कार्यान्वयन गर्न उनको आग्रह थियो।
कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक नेत्र अर्याल, लुम्बिनी प्रादेशिक अस्पतालकी डा वर्षा थापा, आँखा स्वास्थ्य तर्फ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानबाट नेत्र रोग विशेषज्ञ डा बसन्त कार्की र दृष्टि विशेषज्ञ नम्रता पाण्डे र नाक कान घाँटी तर्फ लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख कन्सल्टेन्ट ईएनटी सर्जन डा विष्णु शर्मा लगायतको सहभागिता थियो।