काठमाडौं- युक्रेनमा रुसले गरेको आक्रमणमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ। युक्रेन(रुस आक्रमणमा पहिलो भारतीय नागरिक मारिएको पुष्टि भएको हो।
चिकित्साशास्त्र अध्ययन गरिरहेका कर्नाटकका नवीन कुमारको मृत्यु भएको भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले जानकारी दिएका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान उद्धारको क्रममा भारतीय विद्यार्थी रुसी आक्रमणमा परेका थिए। खार्किभको गभर्नर हाउसमा बिहान ७ बजेतिर धेरै विद्यार्थी खाना खान लाइनमा बसिरहेका बेला आक्रमण भएको बताइन्छ। उक्त आक्रमणमा नवीनको मृत्यु भएको समाचारमा उल्लेख छ।
नविन बिहान रुसी सेनाले खार्किभमा उडाएको गभर्नर हाउस नजिकै उभिरहेका थिए। नवीन खार्किव मेडिकल युनिभर्सिटीमा चौथो वर्षका विद्यार्थी थिए।
‘हामी गहिरो दुस्खका साथ पुष्टि गर्दछौं कि आज बिहान खार्किभ बम विष्फोटमा एक भारतीय विद्यार्थी मारिए,’ विदेश मन्त्रालयका प्रवक्ता बागचीले भनेका छन्।
परराष्ट्र मन्त्रालयले रुस र युक्रेनका राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेको र भारतीय नागरिकलाई फिर्ता ल्याउन सुरक्षित मार्गको खोजी भइरहेको प्रवक्ता बागचीले बताए। उनले धेरै विद्यार्थी अझै पनि खार्किवसहित अन्य सहरमा फसेको बताए।