काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी निर्वाचनसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिलाउनुपर्ने बताएका छन्। उनले नेपालका राजनीतिक दलहरुले पनि कोरोना भाइरसविरुद्धको खोपको विषयलाई प्राथमिकताका साथ अघि सार्नुपर्नेमा जोड दिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषय अन्तरक्र्रियामा उनले निर्वाचनसम्म नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
'सबै जनताले खोप लगाए, सबै कोरोनाबाट बच्न सक्दछन्', उनले भने, 'जसले गर्दा राजनीतिक दललाई पनि फाइदा हुन्छ, त्यसैले अझ सक्रिय भएर खोपको सन्देश लिएर जनता समक्ष जाऔं।' उनले खोप नलगाउने जनतालाई खोप लगाउन आग्रह गर्नुपर्ने बताए। उनले सीमित साधनस्रोतका बाबजुद नेपालले कोरोना भाइरस रोकथाम र नियन्त्रण गरेको बताए।