काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अर्को महिनाबाट पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने बताएका छन्। उनले खोप खरिदका लागि पत्रचार गरिसकिएको पनि बताए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषय अन्तरक्रियामा उनले आगामी वैशाखभित्र १२ वर्षदेखि माथिका सबैलाई खोप लगाइसक्नेसमेत जानकारी दिए।
यसअघि सरकारले १८ वर्षभन्दा माथि उमेर समूहलाई चैत मसान्तभित्र खोप लगाउने बताएको थियो। उनले कोरोना भाइरसविरुद्धको लडाइँमा अहिलेसम्मको अनुभवले अब क्षति नगर्नेसमेत बताए। “हामीले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जुन किसिमको काम ग¥यौं, त्यसको अनुभवले अब कोरोनाविरुद्ध लड्न सजिलो भएको छ”, उनले।
स्वास्थ्य सचिव डा रोशन पोखरेलले कोरोना भाइरस रोकथाम सबैको सहयोगबाट मात्र सम्भव भएको बताए। विश्व स्वास्थ्य सङ्गठन, नेपालका प्रमुख डा राजेश पाण्डवले कोभिड—१९ले मानिसलाई जीवन परिवर्तन गर्नसक्ने धेरै पाठ सिकाएको बताए।
उनले कोभिड–१९ को कारणले हामीले यस्ता महामारी रोक्नका लागि आपत्तकालीन प्रतिकार्य योजनासहित तयार अवस्थामा बस्नुपर्नेमा जोड दिए। उनले कोभिड–१९ को खोप वैज्ञानिकले अहिलेसम्मकै सबैभन्दा छिटो विकास गर्न सफल भएको धारणा राखे। उखले कोरोना महामारीले परिवारसँग पुनर्रमिलन, परिवारलाई हेरचाह गर्न र शारीरिक, मानसिक, तथा आर्थिक समस्याको सामना गर्न सिकाएको बताए।
कार्यक्रममा कोभिड–१९ महामारीका सन्र्दभमा जनस्वास्थ्यका मापदण्ड पछाडिको विज्ञान, कोभिड–१९ विरुद्धको खोप कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालयको रणनीति, कोभिड–१९ पश्चात देखिने स्वास्थ्य समस्या तथा व्यवस्थापनलगायत विषयमा राष्ट्रियसभाका सदस्यसँग छलफल गरिएको थियो।
यसअघि कर्णाली र सुदूरपश्चिमका प्रदेशसभाका सदस्यलाई पनि कोभिड–१९ र यसले पारेको प्रभावबारे मन्त्रालय तथा डब्लुएचओले प्रशिक्षण दिएको थियो।