काठमाडौं - आँखा, नाक, कान, घाँटी तथा मुख (इएनटी) स्वास्थ्य सम्बन्धी विषय ओझेलमा परेको सरोकारवालाले बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व श्रवण दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरुले इएनटी सेवा र यसको विषय ओझेलमा परेको बताएका हुन्। स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखा प्रमुख डा पवनजंग रायमाझीले इएनटी सेवा देशभर विस्तार गर्न आवश्यक रहेको बताए।
जिल्ला अस्पतालहरुमा पनि यसको उपचार हुने विभिन्न उपकरणहरु राख्नुपर्नेमा उनले जोड दिए। इएनटीको सेवालाई स्वास्थ्य बीमाले समेट्न सके बिरामीको आर्थिक भार घटाउन सकिने उनले बताए।
देशभर हाल दर्ता भएका इएनटी विशेषज्ञ २०१ जना मात्र छन्। हाल सरकारी दरबन्दी २१ जनाको मात्र छ। इएनटी विशेषज्ञ नेपालको जनसंख्याको अनुपातमा पर्याप्त नभएको उनले बताए।
कार्यक्रममा आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा प्रकाश बुढाथोकीले यो समस्या बढ्दो क्रममा रहेको बताए। जनशक्ति कम र समस्या बढी भएकाले बेलैमा समाधान नगरे अप्ठ्यारो स्थिति आउन सक्ने उनको भनाई छ।
वीर अस्पतालका इएनटी विभाग प्रमुख डा दिपेन्द्र श्रेष्ठले इएनटीको क्षेत्रलाई ध्यान दिन नसकेको बताए। इएनटीलाई सबैले आ–आफ्नो तर्फबाट महत्व दिएर अघि बढ्न जरुरी रहेको उनले बताए।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले आधारभूत स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउन आवश्यक रहेको बताए। इएनटी सेवा पनि आधारभूत स्वास्थ्य अन्तर्गत पर्ने भएकाले यसलाई प्राथमिकता दिन उनको आग्रह छ। जिल्लादेखि सबै प्रदेश अस्पतालहरुमा इएनटी शाखा स्थापना गर्नुपर्ने उनले बताए।
स्वास्थ्य मन्त्रालयकी जनसंख्या सचिव देवकुमारी गुरागाईले विद्यालय उमेरका बालबालिकाहरुलाई श्रवण शक्ति सम्बन्धी समस्याबाट बचाउन सकिने बताइन्। शिक्षा मन्त्रालयसँगको सहकार्यमा स्कुले बालबालिकालाई यस सम्बन्धी जानकारी दिन सकिने बताइन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले राष्ट्रिय बहिरोपन सम्बन्धी नीति बनाउन मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गरिएको उनले जानकारी दिए। इएनटी सेवा सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले यसको सेवा विस्तारमा सबै प्रतिवद्ध रहेको उल्लेख छ।
यस्तै, उपत्यका ट्राफिक प्रहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवर्ण श्रेष्ठले वर्षेनी 'हर्न निधेष' गरिएको ठाउँमा हर्न बजाउने ५ देखि ६ हजार जनालाई कारबाही गर्ने गरिएको जानकारी दिए। 'हर्न निषेध' गरिएको ठाउँमा हर्न बजाउनेलाई ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिवाना गर्ने गरेको छ।
विश्वमा पाँचमध्ये एक जनालाई बहिरोपनको समस्या रहेको कार्यक्रममा जानकारी दिइएको छ।