काठमाडौं - सरकारले आफूहरुलाई नीतिगत रुपमा संरक्षण दिए औषधिमा आत्मनिर्भर हुने स्वदेशी औषधि उत्पादकहरुले बताएका छन्।
‘आठौँ नेपाल फर्मा एक्स्पो’ बारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उत्पादकहरुले नीतिगत रुपमा सरकारले सहयोग गरे मात्र औषधिमा आत्मनिर्भर हुने बताएका हुन्।
नेपाल औषधि उत्पादक संघ एप्पोनका अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपालमा स्वदेशी उद्योगीलाई प्रोत्साहन गर्ने खालका नीति नभएको बताए। भएका नीति पनि कार्यान्वयन नभएकाले समस्या भएको उनको भनाई छ।
उनले भने, ‘नेपालमा स्वदेशी उद्योगीलाई प्रोत्साहन हुने खालका नीति छैनन्। भएका नीति पनि कार्यान्वयन हुँदैन। सरकारले नीतिगत रुपमा सहयोग गरेमात्र पनि हामी औषधिमा आत्मनिर्भर हुन सक्छौ।’
पारासिटामोल अभावको सन्दर्भमा अध्यक्ष पाण्डेले सरकारले मूल्य समायोजन नगर्दा स्वदेशी उद्योगलाई उत्पादनमा समस्या भएको बताए। उत्पादनभन्दा माग बढी भएकाले महामारीमा पारासिटामोल लगायत औषधिको अभाव हुने गरेको उनले बताए। कच्चा पदार्थ लगायत आवश्यक सामग्रीको मूल्य महँगीको बताउँदै उनले सरकारले मूल्य समायोजन नगरे आगामी दिनमा पारासिटामोल, ओआरएस, जीवनजल, स्लाइन लगायत औषधिको अभाव हुन सक्ने बताए।
एप्पोनका पूर्व अध्यक्ष जी नारायण बहादुर क्षेत्रीले नयाँ प्रविधि र लगानी भित्र्याउन तत्पर भएपनि सरकारले साथ नदिएसम्म अघि बढ्न मुश्किल हुने बताए। आफुहरुलाई सरकारको तर्फबाट नीतिगत रुपमा संरक्षणको आवश्यकता रहेको उनले बताए।
‘नीति क्षेत्रले काम कोशिस गरिरहेको छ। अन्य निकायले सहयोग गरेको छैन। सरकारले संरक्षण दिएकै कारण आज बंगलादेश, भारत लगायत देशहरु आफैँमा आत्मनिर्भर हुन सकेको छ।’ उनले भने।
एप्पोनका अनुसार नेपालमा हाल १०४ वटा औषधि उद्योग छन्। जसमध्ये ६० वटाले उत्पादन गरिरहेको छ। नेपाल औषधिमा ५५ देखि ५७ प्रतिशत आत्मनिर्भर रहेको एप्पोनले जनाएको छ।