काठमाडौं - खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले २७ जनाको मिर्गौलामा भएको पत्थरीको नि:शुल्क शल्यक्रिया गरेको छ।
इण्डोयुरोलोजीले काठमाडौंमा पत्रकार सम्मेलन गरी फागुन १८ देखि २० गतेसम्म २२ पुरुष र ५ महिला गरी २७ जनाको नि:शुल्क रुपमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरेको जानकारी दिएको छ।
कुवेतस्थित रेड क्रेसेन्ट सोसाइटी अफ कुवेत र आरुस लाइफ स्टाइल अस्पतालसँगको सहकार्यमा नि:शुल्क रुपमा शल्यक्रिया गरिएको खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीका कन्ल्सटेण्ट युरोलोजिस्ट डा सञ्जय खड्गीले बताए।
उनले भने, ‘तीन दिनमा ४० जनाको नि:शुल्क उपचार गर्ने हाम्रो लक्ष्य थियो। तर केहीलाई कोभिड र अन्य समस्याका कारण ३३ जनाको मात्र गर्न सक्यौँ। उनीहरु सबैको शल्यक्रिया, शय्या, औषधि नि:शुल्क थियो।’
वर्षको तीनदेखि चार पटकसम्म नि:शुल्क शल्यक्रिया गर्ने योजना रहेको उनले बताए। यसअघि उनीहरुले धनगढीमा पनि ३३ जनाको नि:शुल्क शल्यक्रिया गरेको थियो। काठमाडौं बाहिर जाँदा खर्च धेरै हुने भएकाले बिरामीहरुको शल्यक्रिया काठमाडौंमै गरिने उनले बताए।
यो सँगै खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले हालसम्म आर्थिक अवस्था कमजोर भएका १५ जनाको मिर्गौलाको पत्थरीको शल्यक्रिया न्यूनतम शुल्कमा गरेको छ। दिनको चार जना बिरामीलाई सरकारी शुल्कमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिने उनले बताए। त्यहाँ सरकारी शुल्कमा सेवा लिन बिरामीले आफ्नो सम्बन्धित वडाबाट सिफारिस पत्र लिएर आउनुपर्ने हुन्छ।
मिर्गौलाको पत्थरीको सरकारी शुल्क हाल २० हजार छ भने निजी अस्पतालमा यसको शल्यक्रिया गर्दा ८५ हजारदेखि डेढ लाखसम्म शुल्क पर्ने उनले जानकारी दिए।
उक्त इन्स्टिच्युटमा नविनतम प्रविधिको प्रयोग गरी बिना ठूलो चिरफार दूरबीनको माध्यमबाट मूत्र प्रणाली र मिर्गौलाको पत्थरीको उपचार हुँदै आएको छ। उक्त प्रविधिबाट गरिने शल्यक्रिया प्रभावकारी हुने र जटिलता हुने सम्भावना कम हुने डा खड्गीले बताए। चार घण्टा लाग्ने शल्यक्रिया हाल आधा घण्टामै गर्न सकिने उनले बताए।