काठमाडौं- सर्वोच्च अदालतले वन अतिक्रमण गरी बर्दिवास मेडिकल कलेज स्थापना नगर्न अन्तरिम आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले बर्दिवास मेडिकल कलेज खोल्न प्रस्तावित वन क्षेत्रको जग्गामा रहेका सम्पदामा प्रतिकूल असर पर्ने कुनै कार्य नगर्न, नगराउन भनेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर देवनारायण मण्डलले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो।
अदालतले दिएको अन्तरिम आदेश अनुसार वन सम्पदामा प्रतिकूल असर पर्ने कुनै कार्य नगर्नु नगराउनु, त्यस स्थानमा रहेका रूख विरुवा नकाट्नु, वन्यजन्तुलाई हानी नोक्सानी हुने कार्य नगर्नु नगराउनु त्यो वन क्षेत्र हाल यथास्थितिमा संरक्षित रुपमा राख्नु भनिएको छ।
रिट निवेदन उपरको सुनुवाइ टुंगो नलागेसम्मका लागि सो जग्गामा मेडिकल कलेज स्थापना नगर्न अदालतले आदेश दिएको छ।
महोत्तरीको बर्दिबासमा मेडिकल कलेजको स्थापना गर्नका लागि आन्तरिक तयारी भइरहेका सर्वोच्च अदालतले वन अतिक्रमण गरी बर्दिवास मेडिकल कलेज स्थापना नगर्न अन्तरिम आदेश जारी गरेको हो।प्रस्तावित मेडिकल कलेजका लागि १०५ हेक्टर वन क्षेत्रका ५६८१ रुख कटान गर्नुपर्ने छ।