काठमाडौं- चिकित्सा शिक्षा आयोगले विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको साेमबार बसेको बैठकमा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले एमबिबिएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको बताए।
उनले कलेजको एमबिबिएस कोटा घटाउने, कोटा खारेज गर्ने तथा सम्बन्धन खारेज गर्ने जस्ता कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको बताए। 'अतिरिक्त शुल्क नलिनु भनेर हामीले धेरै पहिलेदेखि कलेजलाई भन्दै आएका थियौँ', उनले भने, 'तर कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउनुको साथै विद्यार्थीलाई अनाश्यक तनाव दिएकोले कारबाही प्रक्रिया अगाडि बढाएका छौ।' उनले आगामी चैत ४ गते बस्ने बोर्ड बैठकले कारबाहीबारे निर्णय गर्ने बताए।
आयोगका सदस्य सचिव डा भोजराज काफ्लेले कलेजले छात्रवासका नाममा अतिरिक्त शुल्क उठाउने गरेको पाइएकोले नउठाउन निर्देशन दिएको बताए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले कलेजले विद्यार्थी समस्या एक हप्ताभित्र समाधान नगरे कारबाही प्रक्रिया अघि बढ्ने बताए।