काठमाडौं–निजामती कर्मचारीलाई लक्ष्य गरेर खोलिएको निजामती अस्पतालमा सर्वसाधारणको आकर्षण बढेपछि स्वास्थ्य क्षेत्रको अतिविशेषज्ञता अस्पताल (सुपर स्पेसियालिटी केन्द्र) का रूपमा विकास गर्ने तयारी गरिएको छ। सबै किसिमको विशेषज्ञ सेवासहितको अस्पताल बनाउन क्षमता पनि विस्तार गरी एक हजार शय्या पुर्याइने छ।
सर्वसुलभ दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालले निजामती कर्मचारीदेखि सर्वसाधारणलाई साधारण उपचारदेखि विशेषज्ञ सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउँदै आइरहेको छ। अस्पतालमा हाल १३२ शय्या भएकामा निकट भविष्यमा चाहिँ थप २३१ शय्या थपिने छ। काठमाडौँको केन्द्रमा रहेको र सबैको पहुँच रहेको अस्पतालले रु १०० को टिकटमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्योपचार गराइरहेको छ।
अस्पतालका मेडिकल डाइरेक्टर डा अर्जुनजङ्ग रायमाझीले अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालन थप गर्ने तयारी गरिएको बताए। अस्पतालले अहिले पनि कार्डियोलोजी, न्युरोलोजी, कलेजो, रगत, पेट, पाठेघरसम्बन्धी विशिष्टीकृत सेवा उपलब्ध गराउँदै आइरहेको छ। अत्याधुनिक एमआरआई उपकरणसमेत जडानको प्रक्रियामा छ। एक जनालाई एमआरआई गर्न ४५ मिनेट लाग्ने गरेकामा नयाँ अत्याधुनिक उपकरणले १५ मिनेट मात्र लाग्छ।
यस्तै दीर्घकालीन दुखाइको पनि सर्वसुलभ रुपमा अस्पतालमा उपचार गरिन्छ। यस्तो उपचार सरकारी अस्पतालमध्ये निजामती अस्पतालमा मात्र हुने गरेको छ। डा रायमाझीका अनुसार विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि न्युरो सर्जरी, बालबालिका शल्यक्रिया, बाल सघन उपचार कक्ष, मुखको शल्यक्रिया जस्ता सेवा थप्न थालिएको छ । मुखको शल्यक्रियाका लागि चिकित्सक आइसकेको र उपचार कक्ष बनाउन थालिएको छ।
उनले अस्पतालमा आएका बिरामी कुनै पनि विशिष्टीकृत स्वास्थ्योपचारबाट वञ्चित हुन नपरोस् भनेर विशेषज्ञ अस्पताल बनाउन थालिएको बताए। विशेषज्ञतायुक्त अस्पताल बनाउनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीका संयोजकत्वमा अस्पतालको भावी सुधारको मार्गचित्र पेश गर्नका लागि पाँच सदस्यीय सुझाव समिति गठन गरिएको छ।
विशेषज्ञतायुक्त बनाउनका लागि अस्पतालले १६ शय्याको ‘मोडुलर इन्सेटिभ केयर युनिट’ बनाउन थालेको छ। अत्याधुनिक सघन उपचार कक्षका लागि अस्पतालले बजेट विनियोजनका काम अन्तिम चरणमा पु¥याएको अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए। अहिले अस्पतालमा चार शय्याको साधारण सघन उपचार कक्ष र सात शय्याको कोभिड–१९ बिरामी सघन उपचार कक्ष छ। अत्याधुनिक सघन उपचार कक्ष शय्या बनाउनका लागि रु १८ करोड बजेट विनियोजन गर्न थालिएको छ।
सबै प्रदेशका अस्पतालसँग समन्वय
अस्पतालले आगामी आर्थिक वर्षदेखि प्रदेशस्तरमा नै निजामती कर्मचारीका लागि सहुलियतमा उपचार गर्ने गरी सात प्रदेशमा रहेका सुविधायुक्त अस्पतालसंँग सम्झौत गरेर सेवा दिने तयारी गरेको छ। कर्मचारीलाई सबै प्रदेशका अस्पतालबाट पनि केन्द्रमा जस्तै सेवा दिइने अस्पतालका उपसचिव सापकोटाले जानकारी दिए।
प्रदेशस्तर निजामती कर्मचारी उपचार कार्यविधि ल्याएर अस्पतालले सातै प्रदेशका अस्पतालसंँगको समन्वयमा कर्मचारीको उपचार गर्ने छन्। अस्पतालले सबै प्रदेशमा रहेका अस्पतालसंँग सम्झौता गरी त्यहीँबाट नै निजामती अस्पतालले पाउने सुविधा कर्मचारीलाई दिने भएको छ। “हामी सात वटै प्रदेशका अस्पतालसँंग सम्झौता गरेर निजामती कर्मचारीलाई यहाँबाट दिने सुविधा उपलब्ध गराउँछौँ”, उनले भने, “अब आफ्नै प्रदेशमा त्यहाँका प्रदेश र स्थानीय तहका कर्मचारीले उपचार सेवा पाउने छन्।”
निजामती सेवाका नायबसुब्बाभन्दा तलका कर्मचारीले ५० प्रतिशत र अधिकृतदेखि माथिका कर्मचारीले ४० प्रतिशत उपचारमा यहाँ छुट पाउँछन्। अहिले अस्पतालमा ४० प्रतिशत निजामती र ६० प्रतिशत सर्वसाधारण उपचार गर्न आउँछन्। प्रदेशमा रहेका अस्पतालसँंग समन्वय गरेर त्यहाँ जनशक्तिको तालिमदेखि अन्य विशिष्टीकृत सेवासमेत उपलब्ध गराइने छ। अस्पतालले सर्वसाधारणलाई सहुलियत प्रदान गर्नका लागि स्वास्थ्य बिमा बोर्डसँग सहकार्य गर्न थालेको छ।
शैक्षिक कार्यक्रम सुरु
अस्पतालले उपचार सेवालाई प्रभावकारी बनाउनका लागि शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गरेको छ। राष्ट्रिय चिकित्सा अध्ययन प्रतिष्ठान (वीर अस्पताल)सँंग स्वीकृति लिएर चिकित्सा शिक्षामा स्नातकोत्तर र स्नातक तहका कक्षा सञ्चालनको तयारी गरिएको उपसचिव सापकोटाले जानकारी दिए।
अस्पताल एमएस, एमडी, डिएम र नर्सिङ तहमा स्नातक बिएनएसको सम्बन्धन लिएर सञ्चालनको तयारीमा छ। 'अस्पतालमा पढी यहीँका बिरामीको उपचारमा चिकित्सक संलग्न होऊन् भनेर हामी शैक्षिक कार्यक्रम पनि सञ्चालनको तयारीमा छौँ', उनले भने 'निजामती कर्मचारीका छोराछोरीलाई पनि पछि पढ्न सजिलो हुन्छ ।' रासस