काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष एचई भेरोनिक रिटोन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच ७३ वर्षदेखिको कूटनीतिक सम्बन्ध सुमधुर र उदाहरणीय रहेको बताए।
उनले कोभिड १९ विरुद्ध लड्न फ्रान्सले चिकित्सा क्षेत्रमा र कोभ्याक्स अन्तर्गतको सहयोगका लागि फ्रान्स सरकार र फ्रान्सेली जनतालाई धन्यवाद दिए।
सभामुख सापकोटाले नेपालको आर्थिक र सामाजिक विकासमा फ्रान्सको सहयोगका लागि आभार व्यक्त गर्दै कोभिड पछिको आर्थिक पुनरुत्थानमा सहयोग रहने विश्वास व्यक्त गरे।
सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच पर्यटन, कृषि र व्यापारको क्षेत्रमा थप सहकार्यको सम्भावना रहेको चर्चा गरे। उनले नेपालले सन् २०२६ मा कम विकसित राष्ट्रको स्थितिबाट स्तरोन्नतिका लागि दुई देशबीचको साझेदारी महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
स्वतन्त्रता, समानता र भातृत्वका विषयमा नेपाल र फ्रान्सको समान दृष्टिकोण रहेको बताउँदै उनले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउनु पर्नेमा जोड दिए।
भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष एचई भेरीनिक रिटोनले आफ्नो टिमलाई नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्दै सम्मानित महसुस गरिरहेको बताइन्। दुई देशबीच आपसी सहयोग र सहकार्यका लागि छलफल गरेर क्षेत्र छनोट गर्न सकिने उनको भनाई थियो।
प्रतिनिधिमण्डलमा सहभागी अन्य सदस्यहरुले फ्रान्सको तल्लो सदन नेसनल एसेम्ब्लीले गरेका अभ्यासहरुबारे जानकारी गराउँदै दुई पक्षीय भ्रमण आदान प्रदानबाट दुवै संसद्का लागि सिकाइको अवसर हुने धारणा राखे।