नेपालगञ्ज–सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकका लागि ओपीडी सेवा नि:शुल्क गर्ने निर्णय गरेको छ।
खजुरा क्यान्सर अस्पताल व्यवस्थापन समितिले गाउँपालिकाबासीका लागि ओपीडी सेवा नि:शुल्कगर्ने निर्णय गरेको हो।
बुधबार पदभार ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किशोर थापाले खजुराबासीको आर्थिक तथा अनुदानबाट सुरु भएको अस्पतालबाट खजुराबासीले यो सुविधा पाउनुपर्ने हक राख्ने र त्यसैअनुसार निर्णय गरिएको बताए।
पदभार ग्रहण गर्दै अध्यक्ष थापाले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको एकमात्र क्यान्सर अस्पतालको रुपमा रहेको यो अस्पताललाई चितवन पछिको नमुना अस्पताल निर्माणमा सबैको सहयोग रहेको औंल्याए।
अध्यक्ष थापाले क्यान्सर रोग उपचारका लागि चितवन तथा काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य गर्न खजुराबासीले क्यान्सर अस्पताल निर्माणमा जुन किसिमको योगदान पुर्याएका छन् त्यसलाई अझै उचाइमा पुर्याउन केही नयाँ कार्य गर्ने बताए।