काठमाडौं– ‘मिर्गौला प्रत्यारोपणको कानुनी प्रक्रिया पुरा गर्न १०२ जनाको लाइन रहेको रजिष्टरमा देखें,’ त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन डा प्रेम ज्ञवालीले सुनाए।
मिर्गौला दिवसको पूर्वशन्यामा त्रिवि शिक्षण अस्पतालको नेफ्रोलोजी एन्ड ट्रान्सप्लान्टेसन मेडिसिन विभाग र नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा डा ज्ञवालीले मिर्गौला बिग्रिएर प्रत्यारोपण गर्नुपर्ने बिरामीले मिर्गौला प्रत्यारोपण गर्न पालो कुनुपर्ने अवस्थाबारे जानकारी दिएका हुन्।
डा ज्ञवालीका अनुसार नेपालमा मिर्गौला रोगका बिरामी कति छन्? वार्षिक कति थपिन्छन्? भन्ने आधिकारीक तथ्यांक छैन। तर नेपालमा प्रत्येक वर्ष ३ हजार मिर्गौलाका बिरामी थपिने गरेको चिकित्सकहरुको अनुमान छ। वर्षेनी मिर्गौला रोगका बिरामी थपिँदै गएपनि प्रत्यारोपणको दर भने न्यून छ। नेपालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको १३ वर्षमा जम्मा २ हजार जनाको मात्रै मिर्गौला प्रत्यारोपण भएको डा ज्ञवालीले बताए।
उनले भने, ‘मिर्गौलाका बिरामी कति छन् भन्ने आधिकारीक तथ्यांक नै छैन, विदेशीहरुले गरेको अध्ययनका अनुसार वर्षेनी ३ हजार थपिन्छन् भन्ने छ तर प्रत्यारोपण सेवा साढे १३ वर्षमा २ हजारको मात्र भएको छ।’
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)की डिन एवं मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह शाहले मिर्गौला प्रत्यारोपणका लागि बिरामीले ६ महिनासम्म पालो नै कुनुपर्ने अवस्था रहेको बताइन्।
मिर्गौला प्रत्यारोपण गर्नेको संख्या न्यून हुँदा डायलाइसिस सेवा लिनेको संख्या धान्नै नसकिने गरी बढेको उनले जानकारी दिइन्।
‘सरकारले डायलाइसिस सेवालाई निःशुल्क गरेको छ, बिरामीहरु प्रत्यारोपण नगराइ डायलाइसिस गरेर बसिरहेका छन्,’ उनले भनिन्, ‘अहिले डायलाइसिसका लागि समेत पालो कुनुपर्ने अवस्था छ।’
सरकार डायलाइसिस सेवामा मात्र केन्द्रीत हुँदा निदानात्मक तथा सचेतनाका कार्यक्रममा भने खासै प्रगती नभएको डा शाहको तर्क छ।
मिर्गौला बिग्रिसकेपछि मात्र लक्षण देखिने भएकाले समयमै रोग पहिचानका लागि समय– समयमा मिर्गौला परीक्षण गर्नुपर्नेमा डा शाहले जोड दिइन्।
‘डायलाइसिसमा मात्र फोसक नभएर, विद्यालय, सरकारी कार्यलय लगायतका क्षेत्रमा सबैको समय समयमा हेल्थ चेकअप गराउने बानीको विकास गर्नुपर्छ,’ उनले भनिन्, ‘सरकारले पनि डायलाइसिस गर्न पैसा दिन्छ, मान्छेहरु पनि लक्षण नदेखिँदासम्म हेल्थ चेकअपमा पैसा खर्च गर्न चाहदैनन्।’
मिर्गौलाको उपचारमा सरकारले दिने सहुलियत विपन्न परिवालाई लक्षित भएपनि सम्पन्न व्यक्तिहरु समेत सरकारी सहुलियत लिनु गलत भएको उनको भनाइ छ। उपचार खर्चमा प्राप्त हुने सरकारी सहुलियतले वास्तविक विपन्न परिवारलाई अपुग हुने गरेको डा शाहले बताइन्।
‘डाक्टर, इन्जिनियर लगायत सम्पन्न व्यक्तिहरु सरकारले दिएको छुट किन नलिनु भन्दै सहुलियत लिन्छन्,’ उनले भनिन्, ‘सरकारले दिने सहुलियत उपचार खर्चमा हो तर, महंगा औषधि र अन्य खर्च धान्न वास्तविक गरिबहरुले सक्दैनन्, उनीहरु बाटोमा माग्न बसेको देखिन्छ। त्यसकारण सरकारले प्रत्यारोपणपछिको औषधि तथा अन्य कुरामा पनि हेर्न आवश्यक छ।’
उनले मिर्गौला रोग विशेषज्ञहरु देशभर नै कम भएकाले अन्य चिकित्सकहरुलाई पनि मिर्गौला रोग पहिचानका लागि प्रशिक्षणको आवश्यकता रहेको बताइन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले उपचारसँगै निदानात्मक सेवा तर्फ पनि कार्यक्रमहरु थप गरिरहेको जानकारी दिए। समयसापेक्ष कार्यक्रमहरु गर्न विज्ञहरुसँग छलफल गरेर आगामी दिनमा नयाँ र थप कार्यक्रम ल्याउने तयारी पनि भइरहेको उनले बताए।
कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले हरेक वर्ष मिर्गौलाका बिरामी बढ्दै गएकाले उपचारमा व्यक्ति र सरकारको पनि आर्थिक अवस्थाले धान्न नसक्ने अवस्था आइसकेको बताए।
मिर्गौला रोगको उपचारसँगै निदानात्मक कुरा तर्फ सरकारले धेरै ध्यान दिनुपर्ने भएकाले स्वास्थ्य मन्त्रालयले मिर्गौलाको क्षेत्रमा विशेष कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ।
‘मिर्गौला रोग लाग्नुको कारण हामीलाई थाहा छ, त्यसैले पहिला नै सचेत हुनुपर्छ,’ डा काकीले भने, ‘सरकारले मिर्गौलाका प्रिभेन्सका लागि विशेष कार्यक्रम ल्याउनुपर्छ।’
डा कार्कीले नेपालमा मिर्गौला रोग विशेषज्ञहरुको संख्या कम भएको र उपचार गर्ने अस्पताल, डायलाइसिस मेसिन तथा तीन तहका सरकारबीचको समन्वयको अवस्थाबारे प्रश्न गर्दै यसमा स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा स्वास्थ्यखबरका सम्पादक प्रवीण ढकालले मिर्गौला रोगको विषयमा सचेतना फैलाउन मिडियाको मुख्य भुमिका हुने कुरामा जोड दिए। उनले स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रलाई समय अनुसार अपग्रेड गरी मिडियामैत्री बनाइ सहज रुपमा सूचना दिने व्यवस्था गर्नुपर्ने बताए।
सञ्चार संस्थाले समाचार प्रस्तुत गर्दा सामान्य लेखपढ गर्न सक्ने सर्वधारणलाई लक्षित गर्नुपर्ने भएपनि मेडिकल भाषामा प्रयोग हुने शब्दहरुलाई चिकित्सकहरुले बुझ्ने भाषामा सहजिकरण गर्नुपर्ने उनको भनाइ छ।
यस्तै आनी छोइङ डोल्माले मिर्गौला रोग समयमै पहिचान र उपचार गर्न नपाउदा आफ्नी आमा गुमाउनु परेको सुनाउदै सबैले स्वास्थ्य प्रति सचेत भएर समयमै रोग पहिचान र उपचार गर्नुपर्ने बताइन्।