भक्तपुर- स्थापना भएको ११९ वर्षपछि पहिलोपटक सञ्चालनमा आएको भनिए पनि भक्तपुर अस्पतालमा हालसम्म बच्चाको आइसीयू (एनआइसीयू) सञ्चालनमा आउन सकेको छैन।
भक्तपुर अस्पताल प्रशासनका अनुसार अस्पतालको पुरानो भवनलाई रेट्रोफिटिङ गर्नुपर्ने र एनआइसीयूका लागि अक्सिजन सप्लाइको काम समेत बाँकी रहेकाले एनआइसीयू सञ्चालनमा आउन नसकेको हो। तर यसअघि बच्चाको आइसीयू सञ्चालन गरिएको भन्दै हल्ला चलाइएको थियो।
अस्पतालकी तत्कालिन निर्देशक डा सुमित्र गौतमले एनआइसीयू सेवा सञ्चालनमा आएको दाबी गरेकी थिइन्। तर अस्पतालले आज जारी गरेको विज्ञप्ति अनुसार अस्पतालमा हालसम्म एनआइसीयू सञ्चालनमा नआएको र एक जना बिरामी पनि भर्ना भएका छैनन्।
एनआइसीयू सेवा सञ्चालनमा आएर बन्द भयो भन्ने समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले यस विषयमा यथार्थ विवरण सार्वजनिक गरेको हो।
अस्पताल प्रशासनका अनुसार एनआइसीयूलाई सञ्चालनका लागि कोठाको व्यवस्था भइसकेको र आवश्यक प्रक्रिया अगाडि बढेको छ।
'हालसम्म बच्चाको आइसीयू सुरु नै नभएको अवस्था छ,' अस्पताल प्रशासनले एनआइसीयू सेवा बन्द भएको भन्ने विषयमा यथार्थ विवरण सार्वजनिक गर्न जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अस्पतालको पुरै भवन रेट्रोफिटिङमा तुरुन्तै जाने अवस्था रहेका कारण भएको सेवा पनि अन्यत्र सार्नुपर्ने अवस्था रहेको छ।'
अस्पतालले एनआइसीयू सेवा सञ्चालनका लागि आइसीयूको एउटा कोठामा कोठा खाली गरी अक्सिनज पाइपलाइन लगायतका काम सुरु गरेको छ। सम्भवत अबको १० दिनपछि एनआइसीयू सञ्चालनमा आउन सक्ने अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले विभिन्न सञ्चार माध्यममा एनआइसीयू सेवा यसअघि सञ्चालनमा आएको र अहिले बन्द भएको भन्ने कुरामा विश्वास नगर्न पनि अनुरोध गरेको छ।
*सच्याइएको: यसअघि राष्ट्रिय समाचार समितिबाट लिइएको समाचारमा त्रुटि भएको भन्दै अस्पताल प्रशासनले ध्यानाकर्षण गर्दै विवरण सार्वजनिक गरेपछि यो समाचार सच्याइएको छ।