काठमाडौं- बंगुरको मुटु राखेर झन्डै दुई महिना बाँचेका पुरूषको निधन भएको छ। गत पुसमा बंगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय डेभिड बेनेटको मंगलबार युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा निधन भएको हो।
उनको शरीरले बंगुरको मुटुलाई अस्वीकार गरेका कारण मृत्यु भएको हो कि अरू नै कारणले हो भन्ने प्रष्ट भइसकेको छैन। उनमा बंगुरको मुटु प्रत्यारोपण गर्ने चिकित्सकहरूले अनुसन्धानपछि मात्रै यसबारे प्रतिक्रिया दिने बताएका छन्।
बेनेटको दुई महिनापछि मृत्यु भए पनि उनमा भएको बंगुरको मुटु प्रत्यारोपणलाई वैज्ञानिकहरूले विज्ञानको फड्को मानेका छन्। यो घटनाले मुटु प्रत्यारोपण क्षेत्रलाई एक कदम अगाडि बढाएको उनीहरूको ठम्याइ छ।
द न्युयोर्क टाइम्सका अनुसार मेरिल्यान्डका बेनेट मुटुसम्बन्धी समस्याका कारण हप्तौंदेखि अस्पतालमा थिए। उनको उपचारका लागि चिकित्सकहरूले सबै विधि अपनाएका थिए। बेनेटको स्वास्थ्य यति कमजोर थियो कि उनी मान्छेको मुटु प्रत्यारोपणका लागि अयोग्य ठहरिए।