काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७४ अर्बभन्दा बढीको बजेट सिलिङ पाएको छ। राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ७४ अर्ब ३ करोड ५ लाखभित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेको छ।
आयोगले दिएको सिलिङमा रहेर मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कार्यक्रम बनाउन सुरु गरेको छ। मन्त्रालयले चालु आर्थिक वर्षमा ६३ अर्ब ८६ करोड ९५ लाखको बजेट सिलिङ पाएको थियो। तर कोरोना महामारीका कारण खोप तथा अन्य पूर्वाधार निर्माणका लागि भन्दै एक खर्बभन्दा बढीको बजेट आएको थियो। चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
विश्व स्वास्थ्य संगठनले स्वास्थ्यमा कम्तीमा १० प्रतिशत बजेट छुट्याउन सुझाब दिँदै आइरहेको छ। तर नेपालमा स्वास्थ्य मन्त्रालयले अहिलेसम्म १० प्रतिशत बजेट पाउन सकेको छैन। आगामी आर्थिक वर्षको बजेटको सिलिङ हेर्दा कुल बजेटको ५ प्रतिशत हाराहारीमा नै रहने अनुमान गरिएको छ।
आगामी आर्थिक वर्षमा पनि स्वास्थ्य मन्त्रालयले विगतका वर्षहरुमा झैँ स्वास्थ्य बीमा, स्वास्थ्य पूर्वाधार तथा अन्य नियमित कार्यक्रममा केन्द्रीत रहेर कार्यक्रमहरु तयार पारिरहेको छ। मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा १२ अर्ब ८० करोड ५ लाख, एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रममा १२ अर्ब ८२ करोड ६५ लाख, कोभिड १९ रोकथाम तथा नियन्त्रण कार्यक्रममा २० अर्ब १६ लाख र स्वास्थ्य बीमा बोर्डमा ७ अर्ब ५० करोड बजेट सीमा पाएको छ।