काठमाडौं- सहमतिका नाममा स्वास्थ्य सेवा तर्फका कर्मचारीहरुको समायोजन मिलानका क्रममा समस्या देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेश सरकार र स्थानीय तहलाई पत्र पठाउँदै दरबन्दी भन्दा बढी कर्मचारी थप नगर्न पत्र काटेको छ।
मन्त्रालयले पत्र मार्फत दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी नराख्न आग्रह गरेको हो। मन्त्रालयले यदि सहमतिका नाममा समायोजनका क्रममा दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी राखेरमा तलब भत्ता नदिने जनाएको छ।
सहमतिका नाममा मनपरी रुपमा दरबन्दी नै नभएको स्थानमा पनि कर्मचारी समायोजन गर्ने क्रम बढेपछि मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै तलबभत्ता नदिने जनाएको हो। मन्त्रालयले उक्त पत्र सबै प्रदेश सरकार र स्थानीय तहमा पठाएको छ।
केही प्रदेश, स्थानीय तहहरूले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी राखेर थप तलबभत्ता माग गरेको पाइएको भन्दै मन्त्रालयले दरबन्दीमा भएका स्वास्थ्यकर्मीलाई मात्र तलब भत्ता दिने निर्णय गरेको हो।
‘स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीलाई थप तलब भत्ताको व्यवस्था नगरिने हुँदा तहाँ कार्यालयले समायोजन मिलानको लागि सहमति प्रदान गर्दा दरबन्दी यकिन गरी रिक्त दरबन्दीमा मात्र सहमति दिने व्यवस्था गर्नुहुन अन्यथा सम्बन्धित तह नै जिम्मेवार हुनुपर्ने छ,’ मन्त्रालयले पठाएको पत्रमा भनिएको छ ।