काठमाडौं- दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी नराख्ने र दरबन्दीबाहेकलाई तलबभत्ता नदिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयप्रति नेपाल स्वास्थ्यकर्मी युनियनले आपत्ति जनाएको छ।
युनियनले स्वास्थ्य सेवाको कर्मचारीहरुको समायोजन मिलान गर्दा नै न्यायसंगत तरिकाले नगरिएको भन्दै श्रेणीगत प्रणालीमा रहेका कर्मचारीहरुको समायोजन गर्न बनाईएको सफ्टवेयरमा तहगत प्रणालीमा रहेका स्वास्थ्यकर्मीहरुलाई जबर्जस्ती हालिएको जनाएको छ। युनियनका अध्यक्ष उज्वलकुमार शर्माले समायोजन भई जाँदा निजामती कर्मचारी सरह ब्यवहार नगरि विभेदपूर्ण तरिकाले एक तह पाउनबाट बञ्चित गरिएकाे बताए।
उनले स्थानीय तहका कर्मचारी र स्वास्थ्य सेवाका कर्मचारीबीच ग्रेडमा बिभेद गरिएको, समायोजन हुँदा इन्सेन्टिभको रुपमा दिईएको समायोजन ग्रेड पनि स्तरबृद्धि पछि खोसिएको,समायोजन ग्रेड पेन्सनमा नजोडिएको बताएका छन्। स्वास्थ्य सेवाका धेरै स्वास्थ्यकर्मीहरु फाजिलमा परेको र समायोजन गर्दा खाईपाई आएको पद, पदनाम र तहसमेत फरक पारेर समायोजन गरिएको उनको भनाइ छ।
युनियनले कोभिडमा ज्यानको बाजि लगाएर काम गरेका स्वास्थ्यकर्मीहरुलाई फाजिलमा परेकै कारण तलबभत्ता नखुवाउने निर्णय गर्नु आपत्ति जनक भन्दै स्वास्थ्य मन्त्रालयले आवेगमा आएर निर्णय गर्नुभन्दा सोचेर निणय लिनपर्ने जनाएको छ। युनियनले समस्या समाधानको लागि स्वास्थ्यकर्मी व्यवस्थापन, वृद्धिविकास र खटनपटन संघले मात्र गर्नुपर्ने जनाएको छ।