बाँके- बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सरको ब्राकिथेरापी उपचार सेवा सुरु भएको छ।
जर्मनीबाट कोबाल्ट-६० रेडियोधर्मी आइसोटोप भित्रिएपछि उक्त उपचार सेवा सुरु भएको हो। बर्दियाकी ५३ वर्षीय महिलाको पाठेघरको मुखको क्यान्सरको सात गेरे डोज दिई उपचार गरिएको अस्पतालमा कार्यरत विशेषज्ञ रेडियसन अंकोलोजी मेडिकल फिजिसिस्ट डा तिर्थराज अधिकारीले जानकारी दिए।
विशेषज्ञ अधिकारीका अनुसार ब्राकिथेरापी उपचार पद्धतीमा रेडियोधर्मी पदार्थ क्यान्सर भएको ठाउँमै वा वरिपरि राखेर निश्चित अवधि वा स्थायीरुपमा राखेर उपचार गरिने पद्दती हो। इन्ट्राक्यभिटरी ब्राकिथेरापी उपचारमा बिरामीलाई एक हप्ताको फरकमा तीनपटक सो उपचार गरिन्छ।
इन्टरइस्टीसीयल ब्राकिथेरापी उपचारमा रेडियोधर्मी पदार्थ स्थाई रुपमै बिरामीको रोग भएको भागमा राखेर उपचार गरिन्छ। अहिले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उच्च डोज दर ब्राकिथेरापी उपचार सुरु भएको हो। हाल ब्राकिथेरापी उपचार बाहिरी रेडियोथेरापी उपचार पाएका बिरामीमा उपचार सुरु गरिएको हो।
महिलाको पाठेघरको मुखको क्यान्सरको उपचारमा यो पद्दती प्रभावकारी मानिन्छ। त्यो बाहेक यो उपचार पद्दतीमार्फत अन्य क्यान्सर जस्तै स्तन, छाला, इसोफेगस, आदि उपचार गरिन्छ। हाल पाठेघरको मुखको उपचार सुरु गरिएको र यो सेवा विस्तार गर्दै लैजाने अस्पतालको योजना रहेको अस्पतालका कार्यकारी निर्देशक डा कृष्ण प्रसाद आचार्यले जानकारी दिए।