काठमाडौं- शताब्दी पुरुष सत्यमोहन जोशीले आफू १०३ वर्षसम्म बाँच्नुको रहस्य के हो भन्ने विषयमा अनुसन्धान हुन सकोस् भनेर मरणोपरान्त शरीर दान गर्ने निर्णय गरेको बताएका छन्।
सप्ताहव्यापी मिर्गौला दिवस कार्यक्रमको समापनका अवसरमा सोमबार किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा जोशीले आफ्नो र श्रीमतीको शरीर मरोणपरान्त किस्ट मेडिकल कलेजलाई दान दिने निर्णय गरेको जानकारी दिएका हुन्।
अनुसन्धानले नै कुनै पनि मुलुकले प्रगति गर्न सक्ने कुरामा जोड दिँदै जोशीले भने, 'म १०३ वर्ष सम्म बाँच्नुको रहस्य के हो भन्ने बारे अनुसन्धान हुन सकोस् भनेर म र मेरी श्रीमतीले हाम्रो शरीर मरणोपरान्त किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई दान दिने निर्णय गरेका छौं।'
उनले अत्याधुनिक विज्ञानसँगै हाम्रा पुर्खाहरुसँग रहेको चिकित्सकीय ज्ञानको बारेमा पनि अध्ययन अनुसन्धान गर्न सुझाव दिए।
कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन डा दिव्या सिंह शाहले नेपालमा मिर्गौला प्रत्यारोपणको पर्खाइमा रहेका बिरामीको संख्या ७ हजार पुगेको जानकारी दिइन्।
डा शाहले अहिले डायलाइसिस गर्दै मिर्गौला प्रत्यारोपण गर्न प्रतिक्षा सूचीमा बसेका बिरामीको संख्या झन्डै ७ रहेको बताइन्।
उनले स्पेनमा कुनै व्यक्तिको अकाल मृत्यु भयो भने उसको अंग राष्ट्रको हुने कानून रहेको पनि जानकारी दिइन्।
'एक जना ब्रेन डेथ भएको व्यक्तिको अंगबाट कम्तीमा दुई जनाको ज्यान जोगाउन सकिन्छ। त्यसैले मृत्यु पर्यन्त अंगदान गर्न प्रोत्साहित गर्न जरुरी छ,' उनले भनिन्।
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्राचार्य प्रा डा बलमान सिंह कार्कीले नेपालमा बर्षेनी ३ हजार जनाको मिर्गौलाले काम गर्ने छाड्ने गरेको तथ्यांक रहेको जनाए। उनले मृत्यु पश्चात् मिर्गौला दान दिने काम सहज बनाउन पनि आग्रह गरे।
प्रा कार्कीले किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा गत एक वर्षमा १६ जना बिरामीको सफल मिर्गौला प्रत्यारोपण भइसकेको जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री बालकृष्ण खाँडले नागरिकहरुलाई स्वस्थ राख्न सरकारले हरेक वर्ष लगानी वृद्धि गरिरहेको बताए। उनले मिर्गौला प्रत्यारोपण लगायतका स्वास्थ्य सेवा विस्तारमा किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले पुर्याइरहेको योगदानको प्रशंसा गरे।
कार्यक्रममा सांसद नवराज सिलवाल, स्वास्थ्य सचिव डा रोशन पोखरेल लगायतले सम्बोधन गरेका थिए भने अस्पतालका निर्देशक प्राडा सुरज पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए।