सप्तरी- सप्तरीको कञ्चनपुर नगरपालिका–१२ मा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। स्थानीय रुपनगर चौकस्थित एमडी हेल्थ केयर हस्पिटल प्रा.लि. सँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एकदिने शिविर सञ्चालन गरेको हो।
एमडी हेल्थ केयर हस्पिटलमा सञ्चालन भएको शिविरमा १४३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। उपचारका लागि शिविरमा आएका २१६ जनाको रक्त परीक्षण, १९७ जनाको भिडियो एक्सरे र १६२ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।
त्यस्तै दाँतमा समस्या भएका ४८ जनाको दाँत खोलिएको छ। ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।
यता गोरखामा सोमबार निःशुल्क शिविर सञ्चालन गरिएको छ। आरुघाट गाउँपालिका वडा नंम्बर ९ सँग सहकार्य गरेर काठमाडौंको सिनमंगलस्थित काठमाडौं मेडिकल कलेज र नयाँ बजारस्थित पिपुल्स डेन्टल कलेज तथा जनरल हस्पिटलले दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो।
आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा पहिलो दिन ९५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। शिविरमा १८९ जनाको रक्तपरीक्षण, १७७ जनाको भिडियो एक्सरे र १२१ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए।
त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २६ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३२ जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ। शिविर मंगलबार पनि जारी रहने छ।