काठमाडौं– नोबेल मेडिकल कलेज विराटनगरमा आन्दोलनरत विद्यार्थीहरुको विषयमा चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय र मेडिकल कलेजबीच सात बुँदे सम्झौता भएको छ।
शैक्षिक सत्र २०७७/७८ का लागि काठमाडौं विश्वविद्यालयमार्फत एमबीबीएस कार्यक्रममा भर्ना भएका र शिक्षण शुल्कको विषयमा आयोग, विश्वविद्यालय र कलेज प्रशासनबीच सात बुँदे सम्झौता भएको आयोगले जनाएको छ।
सम्झौता भएसँगै नोबेलले विद्यार्थीहरुबाट अतिरिक्त शुल्क नलिने भएको छ। गत २७ गतेको छलफलपछि नोबेल विद्यार्थीका माग पुरा गर्न सहमत भएको हो। आयोगले निर्धारण गरेको र निर्देशन दिएको बाहेक अन्य कुनै पनि शुल्क कलेज प्रशासनले नलिने र विद्यार्थीसँग कुनै पनि शर्त सम्झौता नगराउन नाेबेल सहमत भएकाे छ।
यस्तै कलेजमा भर्ना भएका विद्यार्थीहरुलाई विभिन्न विषयमा माग राखी आन्दोलन गरेको भन्दै कलेज प्रशासनबाट कारबाही गर्न नपाइने, भर्ना भइ कक्षामा सहभागी नभएका आन्दोलनरत विद्यार्थीहरुलाई पाठ्यक्रमले निर्दिष्ट गरेका मापदण्ड पुरा गराउन कलेज प्रशासनले अतिरिक्त समय मिलाई पठनपाठन पुरा गराउने र नियमित विद्यार्थी सरह नै परीक्षामा सहभागी हुने व्यवस्था मिलाउने, विद्यार्थीको शैक्षिक सुरक्षाको व्यवस्था कलेज प्रशासनले आफ्नो तर्फबाट पूर्ण रुपमा सुनिश्चित गर्ने र कलजेको वातावरणलाई विद्यार्थीमैत्री बनाउने निर्णय भएको छ।
यस्तै विश्वविद्यालयले शैक्षिक गुणस्तर कायम राख्न र विद्यार्थीको शैक्षिक सुरक्षाको सुनिश्चितताका लागि समय समयमा अनुगमन गर्ने, कलेजको शैक्षिक प्रशासनले विश्वविद्यालयलाई पाठ्यभार पुरा भएको सुनिश्चित गराउने र विद्यार्थीहरुले आफ्नो अध्ययनको क्रममा राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीमा व्यवस्था भए अनुसार आचारसंहिता पालना गर्नुपर्ने र कलेजले आफ्नो सामाजिक उत्तरदायित्व पालना गर्नुपर्ने निर्णय गरिएको छ।
आयोग, विश्वविद्यालय र कलेजबीच सहमति भएसँगै विश्वविद्यालयले विद्यार्थी, कलेज प्रशासन र आयोगका प्रतिनिधिको समन्वय बैठक गरिएको आयोगले जनाएको छ। नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेको र अध्ययनको वातावरण नभएको भन्दै लामो समयदेखि विद्यार्थीहरु आन्दोलनमा थिए।
हेर्नुहोस आयोगको विज्ञप्ति:
