काठमाडौं- सार्वजनिक स्वास्थ्य संस्थालाई संक्रमणमुक्त तुल्याउने उद्देश्यले गणतन्त्र कोरियाले अस्पतालजन्य फोहोर व्यवस्थापनका निम्ति तीनवटा अस्पताललाई रु ४१ लाखभन्दा बढीका उपकरण प्रदान गरेको छ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपाल कोरियामैत्री नगरपालिका अस्पताल, नुवाकोट जिल्ला अस्पताल र टीकापुर अस्पताललाई आज ती उपकरण हस्तान्तरण गरेको हो।
कोइका नेपाल कार्यालयले गत वर्षदेखि वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको छ। त्यसै क्रममा उसले कागेश्वरी मनोहरा नगरपालिकाका पाँच र ललितपुर महानगरपालिकाका दुईवटा विद्यालयलाई वातावरणीय समस्या समाधान गर्न सहयोग गरेको थियो। कोरियाली सहयोगमा भक्तपुर क्यान्सर अस्पतालमा पनि फोहोर व्यवस्थापन परियोजना सञ्चालन भइरहेको कोइकाले जनाएको छ।
कोइकाले आज एक विज्ञप्ति निकालेर उक्त सहयोगबाट समग्र अस्पतालको फोहोर व्यवस्थापन प्रणालीमा सुधार हुने तथा अस्पतालजन्य फोहोर व्यवस्थापनका साथै स्वस्थ र जिम्मेवार व्यवहारको विकास भई अस्पतालमा संक्रमणको जोखिमलाई कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ। रासस