काठमाडौं– थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि उत्पन्न विवाद समाधान गर्न छानविन समिति गठन भएको छ। जन्मने वित्तिकै शिशुको मृत्यु भएपछि मृतकका आफन्तले घटनाको छानविन गर्नुपर्ने माग गरेका थिए।
मंगलबार बिहान आकस्मिक रुपमा अप्रेसन गराइएको नवजात शिशुको जन्मिने वित्तिकै मृत्यु भएपछि मृतकका आफन्तले गर्भमा रहँदा शिशुको मुटुको जाँच समय–समयमा नगरिँदा शिशुको मृत्यु भएको भन्दै घटनाको छनविन गर्न माग गरेका हुन्।
शिशुको मृत्युपछि उनका आफन्तले अस्पताल प्रशासनमा घटनाको छानविनका लागि उजुरी दिएका थिए। मृतकका आफन्तको उजुरीपछि अस्पतालका निर्देशकको कार्यकक्षमा घटनाको विषयमा छलफल भएको थियो। घटनाको विषयमा थप छानविन गर्न बिरामी पक्षका २ जना र अस्पतालका ३ जनासहितको छानविन कमिटी गठन गरिएको छ।
भक्तपुर बस्दै आएकी २८ वर्षिया सुस्मिता कार्कीलाई सोमबार अस्पताल भर्ना गरिएको थियो। नर्मल डेलिभरी लगाउने तयारी गरिएपनि मंगलबार बिहान शिशुको मुटुको चाल कम भएपछि कार्कीलाई आकस्मिक रुपमा अप्रेसन गरिएको थियो। नवजात शिशुको जन्मिने वित्तिकै मृत्यु भएपछि आफन्तले समयमा शिशुको स्वास्थ्य जाँच नगर्दा मृत्यु भएको आरोप लगाएका छन्।
सुत्केरी महिलाका श्रीमान राजकुमार ठकुरीले नर्सले समय– समयमा शिशुको मुटुको चाल परीक्षण नगरेका कारण अप्रेसन ढिलो भइ मृत्यु भएको आरोप लगाए।
‘अस्पतालले हरेक एक-एक घण्टामा बच्चाको हार्टविट जाँच गरेको भनेको छ, तर यो कुरा झूटो हो, एक-एक घण्टामा परीक्षण नै गरिएन,’ उनले भने, ‘समयमै जाँच गरेको भए, समयमै अप्रेसन हुन्थ्यो, हामीले पहिलो सन्तान गुमाउनुपर्ने थिएन।’
यता अस्पताल प्रशासनले गरेको प्रारम्भिक अनुसन्धानमा भने ड्युटीमा खटिएकी नर्सले समय समयमा शिशुको मुटु परीक्षण गरिएको जनाएको छ।