काठमाडौं- विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भई विगत चार महिनादेखि पढाइ छुटेका एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुका लागि कलेजले छुट्टै कक्षा सञ्चालन गर्ने भएको छ। बुधबार काठमाडौंमा भएको छलफलका क्रममा कलेज प्रशासन र विद्यार्थीहरुबीच चार बुँदे सहमति भएको हो।
उक्त सहमतिमा पढाइ छुटेका विद्यार्थीका लागि छुट्टै कक्षा सञ्चालन गरेर छुटेको पढाई ‘रिकभर’ गर्ने विषय पनि रहेको छ।
सहमति पत्रमा कलेजकातर्फबाट प्राचार्य प्राडा रामहरी घिमिरे र सल्लाहकार डा केपी शर्मासहित दश जना विद्यार्थीहरुले हस्ताक्षर गरेका छन्। सहमति पत्रमा विद्यार्थीहरु अमृत रिजाल, सदिक्षा आचार्य, सदिक्षा चापागाई, दिपेश पौडेल, श्रद्धा मैनाली, अभिषेक मावो, राजन शाह, प्रशेष जोशी, मनोज न्यौपाने र तमुन्ना कार्कीले हस्ताक्षर गरेका छन्।
सहमति अनुसार १० जना विद्यार्थीहरुको पहिलो सेमेष्टरमा छुट भएको ४ महिनाको अध्ययन रिकभर गर्ने गरी चैत ७ गतेबाट २ महिनासम्मका लागि कलेजले छुट्टै कक्षा सञ्चालन गर्नेछ।
विद्यार्थीहरुका लागि सोही अवधिमा प्रत्यक शनिबार छुट्टै प्राक्टिकल कक्षा सञ्चालन गरिनेछ। पहिलो सेमेष्टरको कोर्स सकिएपछि मात्र कलेजले उक्त सेमेष्टरको छुट्टै परीक्षाको व्यवस्था मिलाउने नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले जानकारी दिए।
हेरौं सहमति
