काठमाडौं- डेल्टाक्रोनको पहिलो संक्रमण सन् २०२२ को जनवरीमा फ्रान्समा भेटिएको थियो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मार्च ९ मा वैज्ञानिकहरूले नयाँ कोभिड-१९ भेरिएन्ट पत्ता लगाएको घोषणा गर्यो।
डेल्टा र ओमिक्रोन भेरिएन्टको संयुक्त रूप भएकाले यो नयाँ भेरिएन्टलाई 'डेल्टाक्रोन' नाम दिइएको छ। डब्ल्यूएचओले यो भेरिएन्टलाई एवाई.४/बीए.१ पनि भन्छ र यसलाई अहिलेसम्म 'चिन्ताको भेरिएन्ट' का रूपमा वर्गीकरण गरिएको छैन।
जसको अर्थ यो भेरिएन्ट अहिलेसम्म जनस्वास्थ्यमा ठूलो प्रभाव पार्ने खालको देखिएको छैन। डेल्टाक्रोनको संक्रमण युरोप, अमेरिका र दक्षिण अमेरिकामा भेटिएको छ।
तर वैज्ञानिकहरू यो भेरिएन्ट कत्तिको संक्रामक छ वा यसमाथि खोपले कति काम गर्छ वा यसले गम्भीर खालका लक्षण ल्याउँछ कि ल्याउँदैन भन्ने कुरामा स्पष्ट भइसकेका छैनन्। डेल्टाक्रोनको पहिलो संक्रमण सन् २०२२ को जनवरीमा फ्रान्समा भेटिएको थियो।
त्यसयता यो बेल्जियम, जर्मनी, डेन्मार्क र नेदरल्यान्डमा फेला परिसकेको वैज्ञानिकहरूले कोरोना भाइरस बारे जानकारी आदानप्रदान गर्ने अनलाइन जीसेडमा उल्लेख गरिएको छ। हालैका दिनमा डेल्टाक्रोन यूके, अमेरिका र ब्रजिलमा पनि भेटिएको छ।
हेलिक्सका वैज्ञानिकहरूले सन् २०२१ को नोभेम्बरदेखि सन् २०२२ को फेब्रुवरीसम्म संकलन गरेका कोभिडका २९,००० नमुनामध्ये दुई नमुनामा मात्रै डेल्टाक्रोन संक्रमण देखिएको छ। त्यो समयावधि भनेको अमेरिकामा डेल्टा र ओमिक्रोन ज्यादै फैलिएको समय थियो।
अध्ययनकर्ताहरूले अहिलेका लागि यो नयाँ भेरिएन्ट विरल भएको र यो डेल्टा र ओमिक्रोन संयुक्त भाइरस ओमिक्रोनभन्दा बढी संक्रामक भएको कुनै प्रमाण नभेटिएको बताएका छन्।
भेरिएन्ट कसरी मिसियो
बीबीसी अनुसार ब्रजिलका भाइरसविज्ञ फिलिप नाभेकाले भाइरसका भेरिएन्ट मिसिनु कुनै नयाँ वा अनपेक्षित कुरा नभएकाे बताए। उनले भनेका छन्- 'अन्य भेरिएन्टहरू पनि केही पटक मिसिइसकेको हुनुपर्छ।' तर कोरोनाभाइरसका भेरिएन्टहरू एकआपसमा ज्यादै फरक नभएको हुँदा यी मिसिएको कुरा पत्ता लगाउन गाह्रो हुन्छ।
'भाइरसहरू निरन्तर परिवर्तित भइरहन्छन् र नयाँ भेरिएन्ट देखिनु भनेको नराम्रै हुन्छ भन्ने होइन। हामीले अब यो नयाँ भेरिएन्टले महामारीमा पार्ने असरका बारेमा अध्ययन गर्नुपर्छ।' गत केही महिनामा डेल्टा र ओमिक्रोन भेरिएन्टको संक्रमण एकदमै धेरै थियो। यो अवस्थामा कुनै व्यक्तिलाई दुवै भेरिएन्टबाट संक्रमण हुनु नौलो होइन।
त्यस्तो अवस्थामा दुवै भेरिएन्टले एकै पटक मानवकोषमा संक्रमण गर्छन् र परिणामस्वरूप त्यहाँ विकसित भएका भाइरसले दुवै भेरिएन्टको गुण लिएका हुन सक्छन्।
वैज्ञानिकहरूले डेल्टाक्रोनमा ओमिक्रोनको स्पाईक र डेल्टाको कलेवर भएको बताएका छन्। तर वैज्ञानिकहरू दुई महत्त्वपूर्ण भेरिएन्ट मिसिँदा बनेको भेरिएन्टले अझ गम्भीर लक्षण देखाउने वा नदेखाउने एवम् अस्पताल भर्ना हुनुपर्ने अवस्था वा मृत्युको जोखिम बढाउने वा नबढाउने विषयमा स्पष्ट भइसकेका छैनन्।
त्यस्तै खोपले वा पहिला संक्रमण हुँदा विकसित प्रतिरोधी क्षमताले यसलाई रोक्छ या रोक्दैन भन्ने कुरामा पनि वैज्ञानिकहरू स्पष्ट हुन सकेका छैनन्।
अन्तर्राष्ट्रिय जनस्वास्थ्य निकायहरूले नयाँ भेरिएन्टका विषयमा चिन्ता नलिन भनेका छन्। डब्ल्यूएचओ र अमेरिकाको सीडीसीले डेल्टाक्रोनलाई अहिलेसम्म 'चिन्ताको भेरिएन्ट' भनी वर्गीकरण गरेका छैनन्।
डब्ल्यूएचओले यसलाई हाल 'निगरानीमा रहेको भेरिएन्ट' मा राखेको छ।
मार्च ९ को पत्रकार सम्मेलनमा डब्ल्यूएचओकी कोभिड-१९ प्राविधिक प्रमुख मारिया भान केर्खोभले यो भेरिएन्टका कारण रोगको गम्भीरता या संक्रमणका विषयमा कुनै परिवर्तन नदेखिएको बताएकी थिइन्।