काठमाडौं– जिल्ला अस्पताल हुम्लामा विशेषज्ञ सल्यचिकित्सा सेवा सञ्चालन हुने भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्ला अस्पताल हुम्लामा विशेषज्ञ सल्यचिकित्सा सेवा प्रदान गर्न लागेको हो।
हुम्ला अस्पतालमा विशेषज्ञ सल्यचिकित्सा सेवा प्रदान गर्न शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता भएको छ।
प्रतिष्ठानका रजिष्ट्रार निर्पेन्द्र महतका अनुसार विशेषज्ञ सल्यचिकित्सा सेवा अन्तर्गत प्रतिष्ठानले एकजना गाइनोकोलोजिष्ट, एकजना एनेस्थेसियोलोजिष्ट र एकजना जनरल सर्जन हुम्ला अस्पतालमा पठाउने छ।
यो सम्झौतासँगै अब हुम्ला जिल्ला अस्पतालले विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गर्ने उनले बताए।
प्रतिष्ठानले आगामी बैसाख देखि सेवा दिने महतको भनाइ छ। प्रतिष्ठानले हुल्ला जिल्ला अस्पतालमा विशेषज्ञ सल्यचिकित्सा सेवा एकवर्षसम्म दिने सम्झौता गरिएको महतले जानकारी दिए।