काठमाडौं– देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा हेल्थ डेस्क सञ्चालनमा आएको छ। सात हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको र दैनिक हजारौं सेवागाही आउने सिंहदरबार परिसरभित्र वीर अस्पतालले हेल्थ डेक्स सञ्चालनमा ल्याएको हो।
सिंहदरबारमा १६ फागुन २०७४ मा नै हेल्थ डेस्क स्थापना भएको थियो। कोरोना भाइरसको संक्रमण बढेपछि र स्थानको अभावले उक्त डेस्क बन्द थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वी प्रवेशद्वारसँगै (साविक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण) रहेको भवनमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो।
हेल्थ डेस्कको आइतबार मुख्य सचिव शंकरदास बैरागीले एक कार्यक्रमका बीच उद्घाटन गरे। हेल्थ डेस्कमा वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा डा भुपेन्द्र बस्नेतले मुख्यसचिव बैरागीको स्वास्थ्य जाँच गरेर सेवा सुरु गरे।
सिंहदरबारमा रहेको हेल्थ डेस्कमा हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म वीर अस्पतालका २ जना चिकित्सक र ३ जना स्वास्थ्यकर्मीबाट सेवा प्रदान हुनेछ।
हेल्थ डेस्कमा अक्सिजनसहित बेडको सुविधा हुनेछ। सामान्य स्वास्थ्य परीक्षणसहित रक्तचाप, मधुमेह परीक्षण तथा ड्रेसिङसहित स्वास्थ्य जाँच गरिने छ। हेल्थ डेस्कमा सुविधासम्पन्न एउटा एम्बुलेन्स हुनेछ।
बिरामीहरुलाई आवश्यक औषधि समेत प्रदान गरिनुका साथै जटिल अवस्थाका बिरामीलाई सकरारी अस्पतालमा रेफर गरिनेछ।
सिंहदरबारमा कार्यरत कर्मचारीलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नुका साथै सामान्य स्वास्थ्य समस्याका लागि अन्य अस्पताल धाउँनुपर्दा खर्च गर्नुपर्ने समय बचत गर्न पनि मद्दत पुग्ने विश्वास लिइएको छ।
हेल्थ डेस्कमा सिंहदरबार आउने कर्मचारीले पनि स्वास्थ्य परीक्षण गराउने सक्नेछन्। हेल्थ डेस्कबाट समय समयमा मुटुरोग, मधुमेह, हाडजोर्नी तथा नशा रोग, नाक कान धाँटी रोग, छाला, महिला रोग लगायत बिषेशज्ञ सेवा पनि प्रदान गर्ने योजना रहेको हेल्थ डेक्स का प्रमुख बरिष्ठ स्वास्थ्यकर्मी दिपक मुडभरीले बताए।
उनका अनुसार प्रधानमन्त्री कार्यालयको सम्पूर्ण निर्माणकार्य सम्पन्न भएपछि कार्यालयकै पश्चिम भागको भूइँ तल्लामा सुविधासम्पन्न हेल्थ डेक्स सञ्चालनमा आउने छ।