काठमाडौं - समयमै अस्पताल पुगे टाउकोमा लागेको चोटपटकको उपचार सहज हुने विज्ञहरुले बताएका छन्। विश्व हेड इन्जुरी सचेतना दिवसको अवसरमा त्रिवि शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा उनिहरुले बिरामीलाई समयमै अस्पताल पुर्याउन सके टाउकोमा लागेको चोटको उपचार सहज हुने बताएका हुन्।
अस्पतालका न्यूरो सर्जरी विभाग प्रमुख डा मोहनराज शर्माले टाउकोमा चोट लागेको चार घण्टा भित्रमा अस्पताल पुर्याइसक्नुपर्ने बताए। बिरामी ढिला अस्पताल पुगे उपचार प्रक्रिया जटिल हुने उनकाे भनाइ छ।
विश्वमा वर्षेनी ६ करोड ९ लाख मानिसहरुलाई टाउकोमा चोट लाग्ने गरेको उनले बताए। नेपालमा भने वर्षेनी २ लाख ९५ हजार ७१५ जनालाई विभिन्न कारण टाउकोमा चोट लाग्ने गरेको उनले जानकारी दिए। उनका अनुसार टाउकोमा चोट लाग्नुको मुख्य कारण सडक दुर्घटना हो।
उनले भने, ‘विश्वमा १२ लाख मानिसहरु सडक दुर्घटनाका कारण मरिरहेका छन्। २० देखि ४० वर्ष उमेर समूहमा हेड इन्जुरीको जोखिम बढी छ। यसलाई हामी साइलेन्ट इपिडेमिक भन्छौँ। हेड इन्जुरीको मुख्य कारण भनेको सडक दुर्घटना हो।’
त्रिवि शिक्षण अस्पतालमा देशभरका बिरामीहरु आएपनि आइसीयू अभावका कारण सबैले उपचार गर्न नपाएको उनले बताए। बिरामीको चापको अनुपातमा अस्पतालको आइसीयू पर्याप्त नभएको उनले बताए।
न्यूरो सम्बन्धी सेवा सबै ठाउँमा सहज नभएकाले पनि बिरामीहरु समयमै अस्पताल पुग्न नसकेको बताउँदै उनले भने, ‘अझै पनि धेरै ठाउँमा एमआरआई मेसिन छैन। न्यूरो सर्जन छैनन्। बिरामीहरु उपचारका लागि भौतारिदा नै अस्पताल आउन ढिला भइसकेको हुन्छ।’
एक लाख जनसंख्यालाई एक जना न्यूरो सर्जनको आवश्यक पर्ने भएपनि नेपालमा जम्मा १०४ जना मात्र न्यूरो सर्जन भएको उनले बताए। तीमध्ये पनि ६२ जना त काठमाडौं उपत्यका केन्द्रित मात्र छन्।
इमरजेन्सी मेडिसिन विभागका प्रमुख डा रमेश महर्जनले फागुनमा मात्र ३३ जना बिरामी टाउकोमा चोट लागेर अस्पताल आएको जानकारी दिए। जसमध्ये मृत्युदर ३ प्रतिशत रहेको अस्पतालले जनाएको छ।
आइसीयू विभाग प्रमुख डा सुवास आचार्यले आइसीयूमा भर्ना हुने कुल बिरामीध्ये ४० देखि ५० प्रतिशत ट्रमा तथा हेड इन्जुरीको हुने गरेको जानकारी दिए। हेड इन्जुरीको प्रमुख कारण सडक दुर्घटना भएकाले रोकथामका विषयमा जोड दिनुपर्ने उनको सुझाव छ।