काठमाडौं- लोक सेवा आयोगले स्वास्थ्य समूहको एघारौं तहका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले रिक्त रहेको विभिन्न पदका लागि लिएको परीक्षाको नतिजा आज प्रकाशित गरेको हो।
प्रकाशित नतिजा अनुसार रिक्त रहेका केही पदमा दरखास्त नै परेको थिएन।
आन्तरिक प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्नु पर्ने एक सिट रहेको कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट पदका लागि तीन जना लिखित परीक्षामा सहभागी भएका थिए। त्यसमध्ये डा भुपेन्द्रकुमार बस्नेत र सुरेश थापाले नाम निकालेका छन्।
आन्तरिक प्रतिस्पर्धा अन्तर्गत नै जनरल सर्जरी तर्फ प्रमुख कन्सलटेन्ट सर्जन पदमा चार जना लिखित परीक्षामा सहभागी भएपनि डा इन्द्रकुमार झाले मात्रै नाम निकालेका छन्। सो पदमा एउटा मात्रै रिक्त कोटा छ।
एक सिट नै रहेको युरो सर्जरी उपसमूहको प्रमुख कन्सलटेन्ट युरो सर्जन पदमा दुई जना चिकित्सकले नाम निकालेका छन्। आन्तरिक प्रतिस्पर्धामार्फत नियुक्त गर्न खोजिएको यो पदका लागि डा अनिल श्रेष्ठ र डा प्रवोध रेग्मीले नाम निकालेका हुन्।
यसैगरी, खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न खोजिएको ग्यास्ट्रोइन्टेरोलोजिकल सर्जरी उपसमूहको प्रमुख कन्सलटेन्ट सर्जिकल पदमा सात जनाले परीक्षा दिएका थिए। जसमध्ये चार जनाको नाम निस्किएको छ। डा इन्द्रकुमार झा, डा टेकनारायण मण्डल, डा नरेन्द्र पण्डित र डा निराजन सुवेदीले नाम निकालेका हुन्।
न्यूरो सर्जरी तर्फको प्रमुख कन्सलटेन्ट न्यूरो सर्जन पदका लागि १५ जनाले सहभागीता जनाएका थिए। जसमध्ये तीन जनाले नाम निकालेका छन्। डा नरेन्द्र सालिके, डा विनोद राजभण्डारी र डा सुमन फुयालले नाम निकालेका हुन्। यसमा एक सिट मात्र रिक्त छ।
यस्तै आन्तरिक प्रतिस्पर्धा तर्फ एक सिट रहेको प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन पदमा डा ऋषि विष्ट र डा बद्री रिजालको नाम निस्किएको छ।
खुला तर्फको एक सिट रहेको प्रमुख कन्सलटेन्ट रेडियोलोजिष्ट पदमा १३ जनाले परीक्षा दिएकोमा तीन जनाको नाम निस्किएको छ। डा विकासराज थापा, डा मिलन सिलवाल र डा विष्णु खतिवडाको नाम निस्किएको हो।
खुला तर्फ नै एक सिट रहेको प्रमुख कन्सलटेन्ट अप्थलमोलोजिष्ट पदका लागि १० जनाले परीक्षा दिएकोमा डा रोशनी अग्रवाल, डा शक्तिप्रसाद सुवेदी र डा सिमान्त खड्काले नाम निकालेका छन्।
यसैगरी, आदिवासी जनजाती कोटा तर्फ एक सिट रहेको प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट पदमा १३ जनाले परीक्षा दिएका थिए। जसमध्ये डा पुजन बल्ल, डा रविन बैद्य र डा शुभकल्याण श्रेष्ठले नाम निकालेका छन्।
यस्तै आन्तरिक प्रतिस्पर्धा तर्फ एक सिट रहेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदका लागि तीन जनाले परीक्षा दिएका थिए। जसमध्ये डा विश्वबन्धु बगालेको मात्रै नाम निस्किएको छ।
यसैगरी, आन्तरिक प्रतिस्पर्धा तर्फबाट पदपूर्ति गर्नुपर्ने एक सिट रहेको प्रमुख कन्सलेन्ट प्याथोलोजिष्ट पदमा डा करिश्मा मल्ल बैद्यको मात्रै नाम निस्किएको छ।
आन्तरिक प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्नुपर्ने प्रमुख अस्पताल नर्सिङ प्रशासक पदमा बन्दना थापाको मात्रै नाम निस्केको छ। यसमा एक सिट मात्र रिक्त छ।
यस्तै रिक्त रहेको एक सिटमा आन्तरिक प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नुपर्ने प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन पदमा डा आशा थापा, डा प्रकाश बुढाथोकी र डा बन्दना खनाल आचार्यले नाम निकालेका छन् ।
यसैगरी, रिक्त रहेको एक पदमा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्तिको प्रयास भएपनि प्रमुख कन्सलटेन्ट अंकोलोजिष्ट पदमा, कन्सलटेन्ट न्यूरो सर्जन पदमा, प्रमुख कन्सलटेन्ट अप्थल्मोलोजिष्ट पदमा, प्रमुख कन्सलटेन्ट इएनटी सर्जन र प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट पदमा भने कसैको पनि आवेदन परेको छैन। जसका कारण ती पद रिक्त नै रहने देखिएको छ।
यस्तै, आन्तरिक प्रतिस्पर्धामार्फत नियुक्त गर्न खोजिएको प्रमुख कन्सलटेन्ट चेष्ट फिजिसियन पदका लागि एक जना परीक्षामा सहभागी भएपनि अन्तर्वार्ताका लागि उनको नाम ननिस्किएको आयोगद्वारा सार्वजनिक नतिजामा उल्लेख छ।