काठमाडौं - नेपालमा अझैं पनि ४१ हजार ५०० क्षयरोगीहरु उपचारको पहुँच बाहिर रहेको पाइएको छ। सामाजिक लाञ्छना र भेदभावको डरका कारण ४० हजार बढी क्षयरोगीहरु लुकेर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ।
विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा केन्द्रले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा केन्द्रका निर्देशक डा सञ्जय कुमार ठाकुरले लुकेर रहेका रोगीहरुलाई पत्ता लगाउन सके मात्र उपचारको पहुँचमा ल्याउन सकिने बताए।
आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार नेपालमा २८ हजार ६७७ जना बिरामीहरु मात्र उपचारकाे क्रममा छन्। जसमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र ७ प्रतिशत बालबालिका छन्।
राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४/७५ ले नेपालमा वार्षिक नयाँ तथा पुराना गरी १ लाख १७ हजार क्षयरोगका बिरामी रहेकाे देखाएको थियो। नयाँ क्षयरोगका बिरामीहरु वार्षिक रुपमा ६९ हजार थपिन्छन् भने १६ हजार जनाको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ।
औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या वार्षिक रुपमा २२ सय छ। आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधि प्रतिरोधी पहिचान भएको थियो भने ४१८ जना उपचारमा दर्ता भएका थिए।
राष्ट्रिय क्षयरोग केन्द्रलाई वार्षिक ७२ करोड बजेट सरकारबाट प्राप्त हुने गरेको डा ठाकुरले बताए। जसमध्ये २० देखि २५ प्रतिशत कार्यक्रम र ७० प्रतिशत ल्याब र औषधिमा खर्च हुने गरेको उनले बताए।
स्वास्थ्य सचिव डा रोशन पोख्रेलले लुकेर रहेका संक्रमित पत्ता लगाउनु ठूलो चुनौती रहेको बताए। उनीहरुलाई उपचारको पहुँचमा ल्याउन नसक्दा पर्याप्त मात्रामा रकम खर्च गर्न नसकेको उनले बताए।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा राजेश साम्भाजिराव पाण्डवले क्षयरोगको क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए। विशेषगरी क्षयरोग सेवाको पहुँच बढाउन, प्रभावित व्यक्तिको सशक्तिकरण, अनुसन्धान तथा नवीनत कार्यक्रममा लगानी गर्न उनको सुझाव थियो।
‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नारासहित सरकारले मार्च २४ अर्थात् बिहीबार विश्व क्षयरोग दिवस मनाउँदैछ।