काठमाडौं- नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन 'राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल'को चौथो राष्ट्रिय महाधिवेशन २५ देखि २७ गतेसम्म काठमाडौंमा हुने छ। महाधिवेशन नजिकिए सँगै संघको नयाँ नेतृत्वका विषयमा पनि चर्चा चल्न थालेको छ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले यतिबेला अध्यक्ष, महासचिवसहित सदस्यसम्मका उम्मेदवार को उठ्ने हो भन्ने विषयमा चर्चा चल्न थालेको छ। सबैभन्दा बढी चर्चा अध्यक्ष र महासचिवकै चलेको छ।
स्वास्थ्यखबरले संघका सदस्यहरुसँग गरेको कुराकानीमा अध्यक्षमा पाँच जना र महासचिवमा तीन जनाको नाम बढी चर्चामा रहेको पाएको छ।
अध्यक्षमा रामबहादुर चन्द, डा झलक शर्मा गौतम, रामहरी ढकाल, त्रिलोक गुरुङ र जगत नेपालीको चर्चा चलेको छ। यीमध्ये चन्द र डा गौतममध्ये एक जना सहमतिमा उठ्न सक्ने सम्भावना बढी रहेको बताइएको छ। चन्द संघको अहिले कार्यबहाक अध्यक्ष हुन्। चन्द नेपालगन्ज उपमहानगरपालिकामा स्वास्थ्य संयोजकका रुपमा कार्यरत छन्।
डा गौतम स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखामा कार्यरत छन्। ढकाल भरतपुर अस्पतालमा, गुरुङ लमजुङ र नेपाली काठमाडौंको एक स्वास्थ्य चौकीमा कार्यरत छन्।
संघका सदस्यहरुका अनुसार अध्यक्षमा डा चन्द र गौतममध्ये एक जनाको सम्भावना बलियो रहेको छ। अध्यक्षको दौडमा रहेका अन्य दाबेदारहरु संघको अन्य पदमा सहमतिमा मिलाउने सक्ने सम्भावना पनि बढी रहेको सदस्यहरुको बुझाइ छ।
यसैगरी, महासचिवमा तीन जनाको नाम चार्चामा छ। महासचिवमा संघका हालका सचिव हिमालय तिवारीको चर्चा बढी चलेको छ। संघमा लामो समयदेखि सक्रिय तिवारी महासचिवका बलियो दावेदार रहेको सदस्यहरु बताउँछन्। तिवारी हाल वीर अस्पतालमा कार्यरत छन्।
यस्तै भिमराज सिंह पनि महासचिवको दौडमा छन्। उनी स्वास्थ्य बिमा बोर्डमा कार्यरत छन्।
महासचिवको दौडमा रहेका अर्का उम्मेदवार हुन जगत नेपाली। उनले अध्यक्षमा पनि उठ्ने भन्दै हिँडिरहेका छन्। संघभित्र उनी त्यति रुचाइएका व्यक्ति भने होइनन्। उनी केही समय पहिले स्वास्थ्यकर्मी युनियन नेपालमा थिए। पछि उनले संघसँग एकता गरेका हुन्।
'संघ र पार्टीलाई समस्या परेको समयमा उहाँ (जगत नेपाली) समानान्तर रुपमा अर्को संगठनको काममा पनि सक्रिय हुनुहुन्थ्यो' संघका एक सदस्यले स्वास्थ्यखबरसँग भने, 'त्यसकारण उहाँलाई संघमा केही समस्या पर्ने भने देखिएको छ।'
संघको तेस्रो अधिवेसनबाट भक्तिमान शुब्बा अध्यक्ष चुनिएका थिए। तर नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेसँगै शुब्बा एमाले छाडेर समाजवादी तर्फ लागेपछि संघको उपाध्यक्ष चन्दले कार्याबाहाक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आइरहेका छन्।
संघ २०६२ जेठ २७ गते स्थापना भएको हो। संघको महाधिवेशन हरेक तीन वर्षमा हुनु पर्ने भएपनि यसअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा पार्टी बनेपछि समयमा भएको थिएन। तर नेकपा फुटेर एमाले, माओवादी र नेकपा एस बनेको छ। पछिल्लो राजनीतिक घटनाक्रमसँगै संघले पनि आफ्नो अधिवेशन गर्न लागेको हो।