काठमाडौं - औषधि सल्लाहकार समितिको ५३ औँ बैठक आज बस्दैछ। औषधि सम्बन्धी विभिन्न निर्णय गर्न दिउँसो चार बजे बैठक बस्न लागेको औषधि व्यवस्था विभागले जनाएको छ।
बैठकमा विभिन्न ६ वटा कार्यसूची राखिएका छन्। पहिलो कार्यसूचीको रुपमा पारासिटामोल ६५० एमजीमा दर्ता गर्ने उल्लेख छ।
यस्तै, ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्ध दिइने फाइजर बायोन्टेकको नयाँ खोपको लागि आपतकालीन अनुमति प्रदान गर्ने बारेमा समेत प्रस्ताव गरिएको छ।
पशुपन्छी औषधि व्यवसायी तालिम सञ्चालन सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गरी औषधि व्यवस्था विभागलाई परामर्श दिने, औषधि बिक्रि वितरण संहिता २०७८ स्वीकृत गरी लागू गर्न विभागलाई परामर्श दिने, औषधिको स्तर निर्धारण गर्ने लगायत विषय उल्लेख छ।
पारासिटामोलको मूल्य नबढेको भन्दै औषधि उत्पादकहरुले समय अनुसार मूल्य बढाउन माग गरिरहेका छन्। हालको अवस्थामा पारासिटामोल उत्पादन गर्न समस्या भएको उत्पादकको भनाई छ। औषधि उत्पादकहरुले पारासिटामोलको मूल्य बढाउन दबाब दिएपनि सरकारले कुनै निर्णय गर्न सकेको छैन।