हेटौंडा- बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले कोरोना र क्षयरोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागे परीक्षण गर्न आग्रह गरेका छन्।
विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य सन्देश दिंदै उनले पछिल्लो समय विश्वभर फैलिएको कोरोना र क्षयरोग दुबैले फोक्सोमा असर गर्ने र दुबै रोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागेमा कोरोनासंगै क्षयरोगको परीक्षणका लागि आग्रह गरेका हुन्।
बागमती प्रदेश सरकारले रोगहरुको पहिचानका लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेकोले यसबाट समेत क्षयरोगको बेलैमा पहिचानमा मद्धत पुग्ने जनाउँदै मन्त्री लामाले क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क रहेकाले बेलैमा यसको पहिचान गरी उपचारमा लाग्न हुन प्रदेशबासीमा अनुरोध गरेका छन्।
धुम्रपान मध्यपान नगर्ने, पोषणयुक्त खानेकुरा खाने, बालबालिकालाई तोकिएको समयमा बीसीजीको खोप लगाउने र रोगको संक्रमण अरुमा फैलिन नदिन प्रदेशका सबै नागरिक सचेत रहनु जरुरी रहेको उनको भनाई छ।
'क्षयरोग अन्त्यका लागि लगानी गरौं, जीवन बचाऔं' भन्ने नाराका साथ विश्व क्षयरोग दिवस २०२२ बिहीबार मनाईँदैछ।