काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा भिमसिंह तिंकरीलाई सरकारले १० लाख रुपैयाँ उपचार खर्च दिने भएको छ।
भारतमा कलेजो प्रत्यारोपण गरेका तिंकरीलाई सरकारले १० लाख रुपैयाँ उपचार खर्च दिने भएको हो। स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलले मन्त्रिपरिषदको निर्णय भएकाे र अर्थ मन्त्रालयबाट स्वीकृत भएर उपचार खर्च बापतको रकमको सहमति पनि आइसकेको जानकारी दिए।
‘मन्त्रिपरिषदले डा तिंकरीलाई स्वास्थ्य उपचारका लागि १० लाख रुपैयाँ दिने भएको छ, उक्त रकमको सहमति अर्थ मन्त्रालयबाट पनि आइसकेको छ' उनले भने।
कलेजो सिरोसिस भएका डा तिंकरीको दुई महिना अघि भारतको म्याक्स अस्पतालमा प्रत्यारोपण भएको थियो। स्वास्थ्य सेवामा ३२ वर्ष काम गरेका तिंकरी एक वर्षदेखि कलेजो रोगको उपचार गराइरहेका छन्। १२ औं तहमा बढुवा भएका उनले गत माघ २ गते अनिवार्य अवकास पाएका थिए।