काठमाडौं- आर्थिक अवस्था कमजोर भएका सोझासाझा व्यक्तिहरूलाई प्रलोभन देखाउँदै मानव बेचबिखन तथा ओसारपसार उद्योगमा संलग्न रहेकाे आराेप लागेका व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन्।
मकवानपुर हेटौंडा उपमहानगरपालिका १९ घर भई काठमाडौं महानगरपालिका ४ स्थित डेरा गरी बस्ने ३९ वर्षीय मोती लामा कारागार चलान भएका हुन्।
उनले एउटा मिर्गौला झिक्दा खासै फरक नपर्ने र ८ लाख रुपैयाँ हात पर्छ भनी प्रलोभन देखाउँदै मिर्गौला झिक्नको लागि भारत लैजाने क्रममा काठमाडौं महानगरपालिका–१६ माछापोखरीमा ल्याई दुई व्यक्तिलाई राखेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको थियो। उनी मानव बेचबिखन तथा ओसारपसार उद्योग कसुरमा गत फागुन १६ गते पक्राउ परेका थिए।
अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत् काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। थुनछेक बहसपछि लामालाई कारागार चलान गरिएको हो।
उनलाई बिहीबार जिल्ला अदालत काठमाडौंले कारागार चलान गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।