रोल्पा- रोल्पामा क्षयरोगका बिरामी वर्षेनी बढ्दै जान थालेका छन। जिल्लामा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन प्रयोग गरिने खकार जाँच्ने मेसिनको विस्तारसंगै नयाँ बिरामीको संख्या बढेको हो।
जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका अनुसार विगतमा निकै सिमित ठाउँमा रहेको 'माइस्क्रोपी ईक्जामेसन' मेसिन जिल्लाका ९ स्थानमा विस्तार गरिएपछि परीक्षणमा बिरामीको पहुँच वढेकाे छ।
स्वास्थ्य कार्यालय रोल्पाको गत तीन वर्षको तथ्यांकमा यो संख्यामा वृद्धि भएको देखिएको हो। जिल्लामा आर्थिक वर्ष ०७६/०७७ मा सबै खालका क्षयरोगका १८८ जना नयाँ बिरामी भेटिएका थिए। आर्थिक वर्ष ०७७/०७८ मा यो संख्या वृद्धी भई २०० पुगेको थियो।
चालु आर्थिक वर्षको चैत्र १० गते सम्म २० जना बालवालिकासहित १६० जना नयाँ बिरामी फेला परेको स्वास्थ्य कार्यालय रोल्पाका क्षयकुष्ठ रोग निरिक्षक जीतवहादुर डाँगीले जानकारी दिए।
खकार जाँच्ने सेवा विस्तारसँगै वर्षेनी यो संख्या वृद्धी भईरहेको डाँगीले बताए।