काठमाडौं- कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान आइपुगेको जानकारी दिए।
फाइजर खोप १२ वर्ष भन्दा उमेरका नागरिकलाई दिइने छ।
नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ। कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको हो।
चीन सरकारले अनुदान, खरिद र सहयोग गरेर नेपाललाई विभिन्न समयमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको हो। चीनले सिनोफार्म कम्पनीको भेरोसेल खोप उपलब्ध गराएको छ।
चीन सरकारले पटक–पटक गरी एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप नेपाल सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाले जानकारी दिए।