काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अल्जाइमर्स रोगका विषयमा महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएको छ। प्रतिष्ठानको मेडिसिन विभागको आयोजनामा स्वयंसेविका लक्षित अभिमुखीकरण कार्यक्रम भएको हो।
अभिमुखीकरण कार्यक्रममा घोराही उपमहानगरमा कार्यरत स्वयंसेविकाहरुको सहभागिता रहेको थियो।
प्रतिष्ठानकी अस्पताल निर्देशक डा प्रज्ञा सिंह बस्नेतको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा प्रतिष्ठानका मेडिकल डाइरेक्टर, फिजिसियन तथा जेष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलले अल्जाइमर्श रोगको लक्षण, निवारणको बारेमा आफ्नो प्रस्तुति राखेका थिए।
अस्पताल निर्देशक डा प्रज्ञा सिँह वस्नेतले जेष्ठ नागरीकका स्वास्थ्य समस्याहरुलाई पनि परिवार र समाजले प्राथमिकतामा राखी उपचारमा सहज पहुँचकालागि सामुहिक पहल गर्नुपर्ने बताइन्।
उनले आउने वैशाखदेखि प्रतिष्ठानमा यो रोगको उपचार सुरु हुने जानकारी पनि दिइन्।
अल्जाइमर्श रोगका विषयमा प्रस्तुति राख्दै मेडिकल डाइरेक्टर डा रमेश कँडेलले जेष्ठ नागरिकहरुमा प्रमुख स्वास्थ्य समस्याको रुपमा अल्जाइमर्स (बिर्सने) रोग देखिदै गइरहेको बताए। सन् २०१५ को तथ्याङ्क अनुसार नेपालमा अल्जाइमर्स रोगबाट ८० हजार जेष्ठ नागरिक पिडित रहेको जानकारी पनि डा कँडेलले दिए।
वयस्क अवस्थामा देखिने सुगर, प्रेसर, अधिक मोटोपना जस्ता समस्याहरुलाई नियन्त्रणमा राखेमा वा लाग्न नदिएमा यो रोगवाट बच्न सकिने डा कँडेलले बताए।
डा कँडेलका अनुसार प्रतिष्ठानमा वैशाखदेखि हरेक सोमबार र बिहीबार जेष्ठ नागरीक लक्षित अल्जाइमर्स र पार्किन्सन (हिँडडुल गर्न समस्या हुने) रोगको उपचार क्लिनीक सुरु गर्ने योजना रहेको छ।