काठमाडौं- काठमाडौं महानगरपालिका ३० को शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविर संचालन भएपछि आफ्नै टोलमा अस्पतालकै सेवा स्थानीयले लिएका छन्।
घरनजिकै शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र संचालनमा आएपछि आफूहरुलाई सहज भएको उनीहरुको भनाई छ। काठमाडौं मेडिकल कलेजको सहकार्यमा संचालित शिविरमा चार सय बढीले सेवा लिएकाे डा आरती शाहले बताइन्।
बिहीबार सम्पन्न शिविरमा जनरल मेडिसिन सेवा, स्त्रीरोग, बालरोग, हाडजोर्नी लगाएतका समस्या भएकाहरुलाई निशुल्क उपचार गरिएको थियो। काठमाडौं महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले सबै वडाहरुमध्ये ३० नम्बरले आवश्यक उपकरणसहितको स्वास्थ्य सेवा दिइरहेको बताए।
काठमाडौं महानगरपालिका–३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा चैत १ गते उद्घाटन गरेका थिए। सो क्रममा थापाले आफू सरकारसँग बाहिरिएसँगै सो काम अलपत्र परेको उल्लेख गर्दै आफ्नै सक्रियता र स्थानीय जनप्रतिनिधिहरु समेतको सक्रियतामा केन्द्र सञ्चालन गर्न सफल भएको बताएका थिए।