काठमाडौं- एकीकृत प्रवेश परीक्षाको नतिजामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थीले मात्र चिकित्सा शिक्षा पढ्न पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ संशोधन गर्दै एकीकृत प्रवेश परीक्षाको नतिजामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थी मात्र चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था गरेको हो।
संशोधित कार्यविधि अनुसार चिकित्सा शिक्षाका विभिन्न तहका नतिजाको योग्यताक्रममा समावेश हुनका लागि न्यूनत्तम ५० औं पर्सेन्टाइल र सोभन्दा माथि रहेको हुनुपर्ने साथै सही उत्तरका लागि एक अंक प्राप्त हुने तथा प्रत्येक गलत उत्तरका लागि ०.२५ अंक घट्ने छ।
'चिकित्सा शिक्षाका विभिन्न तहका एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा समावेश हुनका लागि न्यूनतम ५०औं पर्सेन्टाइल र सोभन्दा माथि रहेको हुनुपर्ने साथै प्रत्येक सही उत्तरका लागि एक अङ्क प्राप्त हुने तथा प्रत्येक गलत उत्तरका लागि ०.२५ अङ्क घटाइने छ।' आयोगले भनेको छ।
आयोगले यही चैत १८, २० र २१ मा एकीकृत प्रवेश परीक्षा लिने कार्यतालिका सार्वजनिक गरेको छ। उक्त परीक्षामा पर्सेन्टाइल प्रणाली अनुसार नतिजा प्रकाशन गरिने छ। चैत १८, २० र २१ मा हुने प्रवेश परीक्षामा ३६ हजार विद्यार्थी सहभागी हुँदै छन्। गत वर्ष ३२ हजार विद्यार्थीले परीक्षा दिएका थिए। यस वर्ष चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहमा ८ हजार विद्यार्थीले मात्रै पढ्न पाउने गरी सिट संख्या तोकिएको छ।