काठमाडौं - ६५० एमजीको पारासिटामोल ट्याबलेट बनाउने सरकारी निर्णयको सरोकारवालाहरुले विरोध गरेका छन्। अध्ययन र प्रमाण बिना पारासिटामोल ट्याबलेटको डोज बढाइएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च, नेपाल फार्मेसी संघ र नेपलिज एशोसिएसन अफ क्लिनीकल फर्मासिस्टले प्रेस विज्ञप्ति जारी गरी विरोध गरेका हुन्।
उनीहरुले बिना कुनै आधार व्यापारीको स्वार्थमा पारासिटामोलको डोज बढाउन लागेको बताएका छन्। तत्काल उक्त काम रोकेर छानबिन गरी कारबाही गरी पाऊँ भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल र फार्मेसी संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग माग समेत गरेको छ।
उनीहरुले बुझाएको पत्रमा भनिएको छ, ‘औषधि व्यवस्था विभागले कुनै आधारण कारण बिना नै केही व्यापारीको स्वार्थमा परी ६५० मिलिग्रामको पारासिटामोलको दर्ता बिना अनुमति र कारोबार गर्न दिने कार्य गर्न लागेकाले सो कार्य तत्काल रोकी छानबिन गरी कारबाही गरी पाउन अनुरोध छ।’
उनीहरुले विरोधका विभिन्न सात वटा आधारहरु पेश गरेका छन्:
१. नेपालमा ६५० एमजीको पारासिटामोलको हालसम्म क्लिनीकल ट्रायल र अनुसन्धान नभएको
२. औषधि व्यवस्था विभाग आफैँले यसअघि ६५० एमजीको औषधि उत्पादन र बिक्रि अनुमति नदिने निर्णय गरेको
३. ६५० एमजीको ठूलो मात्राको औषधि सेवनले आम उपभोक्ताको कलेजोमा गम्भीर समस्या पर्ने हुँदा कलेजो अस्पताल स्थापना र बजार विस्तारका लागि केही व्यक्तिहरुको दबाबमा परेको देखिएको
४. औषधिको मूल्यवृद्धि गर्न लागि परेका केही उत्पादकको दबाबमा र सक्रियताले यो गलत निर्णय हुन गएको
५. औषधि आपूर्ति प्रतिबन्ध गर्ने र मूल्य एकाधिकार कायम गर्ने गलत निर्णयलाई निरन्तरता दिएको
६. विकसित देशहरुको नियमन निकाय जसलाई एसआरआई भनिन्छ। यसले समेत हालसम्म ६५० एमजको पारासिटामोललाई उत्पादन वितरण अनुमति नदिएको
७. डब्लुएचओले अत्यावश्यक औषधिको सूचीमा समेत मान्यता नदिएको
औषधि व्यवस्था विभागले केही उत्पादक र व्यापारीको दबाबमा परी निरन्तर गलत निर्णय गर्दै आएको उनीहरुको बुझाइ छ। विभागका उक्त निर्णय तथा काम कारबाहीहरुमा छानबिन गरी उक्त निर्णय तत्काल रोक्न उनीहरुको माग छ।
यता, नेपलिज एशोसिएसन अफ क्लिनीकल फर्मासिस्टले बिना कुनै अध्ययन र अनुसन्धान सरकारले पारासिटामोलको डोज बढाएको भन्दै विरोध गरेको छ। पारासिटामोलको अधिकतम मात्रा वयस्क वर्गका लागि प्रतिदिन ३.२५ ग्राम हरेक ४ देखि ६ घण्टाको फरकमा मात्रा अनुरुप स्वास्थ्यकर्मीको निगरानीमा ४ ग्रामसम्म प्रयोग गर्न सकिन्छ।
कलेजोको बिरामीहरुले भने २ ग्रामभन्दा बढी प्रयोग गर्न नहुने एशोसिएसनले जनाएको छ। ६५० एमजीको सट्टामा ३२५ एमजीको ट्याबलेट उपलब्ध भएमा वृद्धहरुमा औषधिको प्रयोग गर्न सहज हुन्छ। किनभने पारासिटामोल अन्तरदहन गर्ने ग्लुथ्थीयोज भन्ने तत्व वृद्धहरुमा कमी हुने गर्दछ। वृद्धहरुमा ३२५ एमजी पारासिटामोलको प्रयोग उपयुक्त हुनुको साथै हुने एशोसिएसनले जनाएको छ। ५०० एमजीले काम नगरेर ६५० एमजी बनाइएको भन्ने कुरामा कुनै सत्यता नभएको उनीहरुको भनाइ छ।
यही चैत १० गते औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले नेपालमा पनि ६५० एमजीको पारासिटामोल बनाउने निर्णय गरेको थियो। नेपालमा हाल ५०० एमजीको पारासिटामोल बन्दै आइरहेको छ।