काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मोतिबिन्दुको निवारण गर्न सबै स्थानीय तहले निश्चित रकम छुट्याउनु पर्ने बताएका छन्।
नेपाल नेत्रज्योति संघद्वारा आयोजित ४४ औं नेत्रज्योति दिवसको अवसरमा स्वास्थ्य मन्त्री खतिवडाले मोतिबिन्दुको निवारणका लागि सबै स्थानीय तहले बजेटमार्फत निश्चित रकम छुट्याउनुपर्नेमा जोड दिए। त्यसमा स्थानीय तहका जनप्रतिनिधि पनि सहमत हुनेमा स्वास्थ्यमन्त्री खतिवडाको विश्वास छ।
यसैगरी नेपाल विश्व स्वास्थ्य संगठनबाट दक्षिणपूर्वी एशियाली क्षेत्रमा नै जनस्वास्थ्य समस्याको रुपमा रहेको ट्रकोमा रोग निवारण गर्ने पहिलो देशको रुपमा सम्मानित भएको नेत्रज्याति संघका अध्यक्ष डा चेतराज पन्तले जानकारी दिए। अध्यक्ष पन्तले अहिले पनि नेपालमा १ लाख २० हजार मानिस दृष्टिविहीन वा कम दृष्टिविहीन भएको बताए। ३६ लाख वृद्धवृद्धा चस्मा लगाउनबाट वञ्चित भएको बताउँदै पन्तले अब सरोकारवाला सबैले त्यसतर्फ ध्यानदिनुपर्ने बताए।
कार्यक्रममा संघले अन्धोपन निवारण गर्ने उद्देश्य प्राप्तिमा विशेष योगदान दिएवापत नेपाल सरकार गण्डकी प्रदेश, तुलसीपुर उपमहानगरपालिका दाङ, वरिष्ठ समाज सेवी श्रीजंग शाह, जापनीज नागरिक काजुमासा काकिमी, संघ अन्तर्गतकै विराटनगर र भरतपुर आँखा अस्पताललाई सम्मान पनि गरेको छ।