काठमाडौं- स्वास्थ्य मन्त्रालयले धनुषाको 'शहिद सूर्यनाथ रान यादव स्मृति अस्पताल'को सम्बन्धमा अनुगमन गर्न छानबिन समिति गठन गरेको छ।
धनुषाको शहीदनगर नगरपालिका क्षेत्र भित्र वडा नं ८ विसरभोरा डुमरीयामा १५ शैयाको शहिद सूर्यनाथ रान यादव स्मृति अस्पताल मन्त्रिपरिषदबाट स्वीकृत भै भौतिक संरचना तथा अस्पताल सञ्चालनका लागि आवश्यक सबै पुर्वाधार निर्माण कार्य सम्पन्न भएको थियो।
नगरपालिकाको पहलमा २०७६ साल असोज ४ देखि स्वास्थ्य सेवा सञ्चालन हुने भनिए पनि हालसम्म अस्पताल संचालनमा नआएपछि मन्त्रालयले चासाे देखाएकाे हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो।
छानविन समितिको सदस्यहरुमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहाकार डा रमेश ढकाल रहेका छन्।
अस्पतालको प्रस्तावित संगठन व्यवस्थापन, संरचना र दरवन्दी लगाएतको स्थलगत अनुगमन गरी १५ दिन भित्र प्रतिवेदन पेश गर्न समितिलाई जिम्मेवारी दिइएको छ।